| मङ्लबार, कार्तिक २४, २०८३

महशुल नतिर्ने गोरखाका ६३८ घरधुरीको विद्युत लाइन काटियो

प्रतीक्षा आले : मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत महसुल नतिरेमा लाइन काट्न सकिने प्रावधान छ । त्यही आधारमा विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रले महशुल नतिर्ने छसय भन्दा धेरै ग्राहकको लाइन काटिसकेको छ ।
केन्द्रका आय प्रमुख अनिल कैनीका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को नौँ महिनाको अवधिमा ६३८ घरधुरीको विजुली लाइन काटिएको हो । उनीहरुबाट ७६ लाख चार हजार रुपैँया बक्यौता उठ्नुपर्ने उनले बताए । यो तथ्याङ्क साउनदेखि चैत मसान्तसम्मको हो ।
‘हासम्म ६३६ घरधुरीबाट ६३ लाख १५ हजार रुपैँया उठिसकेको अवस्था छ । बाँकी पनि उठाउने तयारीमा छौँ’, उनले भने । लाइन काटिनेमा सबैभन्दा धेरै पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकाका सेवाग्राहीहरु रहेको कैनीले जानकारी दिए ।
तर, केन्द्रले व्यवहारिक भएर आफ्नो काम कर्तव्य अघि बढाएको कैनीले बताएका छन् । ‘कतिपय ठाउँको अवस्था दयनीय हुन्छ । हामीले समय परिस्थिति हेरेर काम गरेका छौँ’, उनले भने, ‘महसुल तिर्नै नसक्नेहरुको हकमा छुट पनि हुनुपर्छ । तर, केही सेवाग्राहीहरु जानाजान रकम तिर्दैनन् ।’ मिटर रिडिङ भएको १५ औँ दिनसम्म पनि महशुल नतिरेमा जरिवाना लाग्ने उनले जनाए ।
मिटर रिडिङ भएको एक हप्ताभित्र महशुल तिर्ने ग्राहकहरुको हकमा भने महशुलमा दुई प्रतिशत छुट पाउने उनले बताएका छन् ।
केन्द्रमा चालु आवको चैत मसान्तसम्ममा विद्युत महसुल बापत १९ करोड ९७ लाख ९२ हजार रुपैँया संकलन गरेको छ । हालसम्म १९ करोड ७६ लाख ७५ हजार रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्