
पृथ्वीनारायण शाहको मूर्ति बनाउने एड्भान्स तालिम सुरु
गोरखामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको मूर्ति बनाउने एड्भान्स तालिम सुरु भएको छ । महिला उद्यमी संघ नेपाल गोरखा को आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा बुधबारबाट तालिम सुरु भएको हो ।
एक हप्तासम्म संचालन हुने तालिम मा माटोबाट पृथ्वी नारायण शाहको मूर्ति बनाउन र फ्रेमिङ गर्न सिकाइने महिला उद्यमी संघ नेपाल गोरखाकी सचिव सिर्जना पाण्डेले बताइन् । उनका अनुसार पृथ्वी नारायण शाह जिल्लाको चिनारी भएकाले शाहको मूर्ति बिक्री वितरण गरेर पर्यटनहरु आकर्षण गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको हो । ‘यसअघि हामीले पृथ्वी नारायण शाहको मूर्ति बनाउने आधारभूत तालिम संचालन गरेका थियौँ ।
पहिला आधारभूत तालिम लिएकाहरुलाई नै लक्षित गरेर एडभान्स तालिम संचालन गरेका हो’, सचिव पाण्डेले भनिन्, ‘आयआर्जनमा सहभागी हुने इच्छाशक्ति भएका महिलाहरुलाई मात्र तालिममा सहभागी गराएका छौँ ।’
गोरखा नगरपालिकाको उप(प्रमुख सवल नेतृत्व कार्यक्रम अन्तरगत तालिम संचालन गरिएको उनले जानकारी दिइन् । गोरखा घुम्न आएका पर्यटकहरुमाझ चिनोको रुपमा राष्टूनिर्माता पृथ्वी नारायण शाहको मूर्ति लैजाने संस्कृतिको विकास गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको उनले बताएकी छिन् । गोरखा नगरपालिकाको पर्यटन वर्षलाई समेत लक्षित गरेर तालिम दिइएको उनको भनाइ छ । ‘तालिमबाट पर्यटन क्षेत्रको विकास त हुने नै भयो साथै तालिममा सहभागीहरुको आयआर्जनको स्रोत पनि बढाउन सकिन्छ’, उनले भनिन् । योगेन्द्र बहादुर गुरुङले प्रशिक्षण गराउने उक्त तालिममा २० जनाको सहभागिता रहेको महिला उद्यमी संघ नेपाल गोरखाकी सचिव सृजना पाण्डेले बताएकी छिन् ।
संघकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमकाबीच तालिम उद्घाटन भएको थियो ।




