| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठक विभिन्न २१ बुँदे निर्णयहरु गरेर सम्पन्न भएको हो ।
बैठकले पहिरोका कारण बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको भुवने खोलाखेत कृषि उद्योग सहकारी संस्था र आसपासका वस्तीहरुको अन्य घरहरुसमेत जोखिमका परेकाले संरक्षणका लागी आवश्यक रकम व्यवस्था गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश पोखरामा लेखी पठाउने निर्णय गरेको छ । गोरखा दरबार क्षेत्रको सिमानाका जग्गाहरुबाट अनधिकृत रुपमा ढुङ्गा उत्खनन् भइरहेकाले उक्त क्षेत्रमा हुने अवैध उत्खनन् रोक्न गोरखा नगरपालिका र जिल्ला प्रहरी कार्यालय गोरखासँग अनुरोध गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकले चालु आर्थिक वर्ष विपदका कारण मृत्यु हुनेहरुलाई आवश्य क्षतीपूर्ति दिने निर्णय गरेको छ । साथै, विपदका दृष्टिले जोखिमयुक्त संरचना एकिन गरी सम्बन्धीत निकायको अग्रसरतामा हटाउने निर्णय समेत भएको छ । सम्बन्धीत कार्यालयहरुले पुरिएका सडक नालीहरु सफा गरी वर्षातको समयमा सहज निकास हुने व्यवस्था मिलाउने निर्ण पनि बैठमा भएको हो ।
जिल्ला स्तरीय विपद व्यवस्थापन बैठकले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना ०८२÷८३ तथा मनसुनजन्य विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०८२ को स्वीकृत गर्ने निर्णय समेत गरेको छ । मनसुन समयको सुरुवातसँगै आउनसक्ने डेंगु लगायत जनस्वास्थ्यजन्य र पशुजन्य स्वास्थ्य प्रकोपको नियन्त्रण गर्न सम्बन्धीत निकाय र स्थानीय तहहरुले पूर्वतयारी सहित प्रतिकार्यका कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा, जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, विभिन्न पालिकाहरुको प्रमुख, उपप्रमुख तथा अन्य प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्