
गुम्दाको निशुल्क आँखा शिविरमा चार सय सात जनाले सेवा लिए
विकट मानिने धार्चे गाउँपालिका वडा नं ५ गुम्दामा सम्पन्न निशुल्क आँखा शिविरमा चारसय ७ जनाले सेवा लिएका छन् । धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्सको आर्थिक सहयोग र मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दा स्वास्थ्य चौकीमा शिविर संचालन भएको थियो ।
मंगलबार, बुधबार र बिहिबार गरी तीन दिनसम्म संचालन भएको शिविरमा महिला १४३ र पुरुष २६४ जना गरी ४२७ जनाले सेवा लिएका हुन् । जसमध्य ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । यस्तै, करिब १८० जनालाई निशुल्क रुपमा चस्मा वितरण गरेको उनले जानकारी दिए ।
‘शिविरमा हरेक दिन दुई सत्रमा सेवा दिएका थियौँ’, उनले भने, ‘पहिलो सत्रमा आँखाको परीक्षण र औषधी तथा चस्मा वितरणको काम हुन्थ्यो । दोस्रो सत्रमा भने पहिलो सत्रमा आँखा जाँच गराएर आएका मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रियाको काम हुन्थ्यो ।’
शिविरमा गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँ लगायत आसपासका क्षेत्रहरुको बासिन्दाले सेवा लिएको उनको भनाई छ । तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखा रोग विषेशज्ञ डाक्टर कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएका थिए ।




