
गोरखाका पालिकाहरुले आँबुखैरेनी गाउँपालिकाबाट धेरै सिक्न जरुरी
छिमेकी जिल्ला तनहूँको आँबुखैरेनी गाउँपालिकाले बिगतका बर्षदेखि नै उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको छ ।
सो पालिकाले विशेषगरी शिक्षा क्षेत्रमा अति उल्लेखनीय काम गरेको छ । सामुदायिक विद्यालयप्रति आकर्षण गर्न विभिन्न आकर्षक कार्यक्रमहरु गर्दै आएको छ ।
आँबुखैरेनी अस्पताल सञ्चालन गरेर अर्को उत्कृष्ट काम गरेको छ । दशैंका बेला काठमाडौंबाट घर फर्कन सवारी साधन नपाएर हैरानी खेपिरहेका आँबुखैरेनी गाउँपालिकाका विद्यार्थीहरुलाई गाडी पठाएर ल्याउने काम ग¥यो । कृषि क्षेत्रमा उस्तै वाहवाही पाउने कार्यक्रम गरिरहेको छ । हाट बजार चलाएर किसानले बारीमा लगाएका कृषि उत्पादनलाई हाटबजारमा गएर बेच्ने व्यवस्था मिलाइदिएको छ । हाट बजारमा नबिकेका फापर लगायतका उत्पादनलाई खरिद गरी बजारको व्यवस्था गरिदिने पालिकाको अति प्रसंसनीय काम हो ।
तर गोरखाका पालिकाहरुमा भने वितरणमुखी कार्यक्रम अधिक छन् । कसैलाई सहिद बेपत्ता परिबार भनेर, कसैलाई गरिब भनेर, कसैलाई दलित भनेर पैसा बाँड्ने कार्यक्रम धेरै छन् । उद्घोषण तालिम, भाषण कला तालिम, खैजडी बजाउने तालिम, सारंगी बजाउने तालिम, मादल बजाउने तालिम भनेर पैसा सिध्याउने काम गोरखाका पालिकाहरुले गरिरहेका छन् ।
कसैलाई गोरु किन्न, कसैलाई हातेटिलर किन्न पैसा बाँडेको छ । चुलोचौको बाँडेर, बाख्रा, कुखुरा, भैँसी, पाडा बाँडेर बजेट सक्ने काम गरिरहेको छ । एईईमा धेरै अंक ल्याउनेलाई पनि पैसा, पालिकाको बारेमा थेसिस गर्नेलाई पनि पैसा, जाँडरक्सी उत्पादन गर्नेलाई पनि पैसा । पैसा बाँड्ने कार्यक्रमजति सफा, सजिलो, तत्काल कार्यकर्ता खुशी पार्ने, छिटो प्रगति देखिने कार्यक्रम अरु कुन हुन्छ र ?
दीगो विकास हुने खालका, रचनात्मक, सिर्जनात्मक कार्यक्रमका सट्टा यस्ता पैसा बाँड्ने कार्यक्रम गरेर बजेट सिध्याउने ध्याउन्नमा लागेका गोरखाका पालिकाहरुले नजिकैको आँबुखैरेनी गाउँपालिकाबाट धेरै सिक्नु जरुरी छ ।




