
गण्डकी सरकारले ल्यायो ‘राइड सेयरिङ’ नियमावली
यातायात व्यवसायीको दबाब र प्रभाव तोड्दै अन्तत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको छ । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा यातायात व्यवसायीले पोखरामा हड्ताल गरेर सरकारलाई रोक्न दबाब दिएका थिए । तर, गण्डकी प्रदेश सरकारले कार्यविधि नभई राइड सेयरिङ सम्बन्धी अलग्गै नियमावली जारी गरेको हो ।
यो नियमावलीलगत्तै अब गण्डकी प्रदेशमा अनुमती नलिई राइड सेयरिङ सेवा प्रदान गर्न पाइने छैन । अहिले भने इनड्राइभ, पठाओजस्ता सेवा प्रदायक कम्पनीले विनाअनुमति यस्तो सेवा प्रदान गर्दा यातायात व्यवसायीबीच विवाद निम्त्याएको थियो ।
लामो समयदेखि संघीय र बागमती सरकारले पनि रायड सेयरिङलाई मान्यता दिने तयारी गरे पनि सकेका थिएनन् तर गण्डकीले भने त्यो हिम्मत गरेर नियमन तथा व्यवस्थापनका लागि नियमावली ल्याएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
‘यातायात सेवालाई प्रतिस्पर्धात्मक र व्यवस्थित गराउनका लागि यो नियमावली ल्याइएको हो । सेवालाई व्यवस्थित गर्दा सरकारको राजश्व पनि बढ्ने भयो भने यातायात सेवालाई अझै व्यवस्थित र मर्यादित गराउन कतिपय सहुलियतसहितको व्यवस्था गर्दै यो पारित भएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यो नियमावलीले कसैलाई घाटा वा कुनै व्यवसायीलाई हानी गर्दैन, व्यवस्थित हुन सहयोग पु¥याउँछ ।’
भैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रायड सेयरिङ सम्बन्धी नियमन तथ व्यवस्थापन गर्ने कानुन किन अड्कियो भन्ने प्रश्नको अब जवाफ मिलेको बताए । यो नियमावलीले यातायात व्यवसायीको अहित नगर्ने तर सेवाग्राही र यात्रुको हित गर्ने केसीको भनाइ छ । निजी सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने यातायात व्यवस्था ऐन २०४९ मा व्यवस्था थियो ।
नियमावली २०४५ ले पनि निजीले यात्रु बोक्न बन्देज गरेको भन्दै राइड सेयरिङलाई मान्यता दिन नहुने आवाज यातायात व्यवसायीले उठाउँदै आएका थिए । यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । ‘२०८१ असार १३ गते त्यो व्यवस्था खारेज गर्दै सबै प्रकारका सवारी साधनले कानुन बनाएर सेवा दिन पाउने व्यवस्था गरेपछि राइड सेयरिङ सेवाा नियमन तथा व्यवस्थापन गर्ने नियमावली ल्याएका हौं’, सरकारका प्रवक्ता डा. टकराज गुरुङले भने, ‘सर्वोच्चको आदेशले यातायात सेवालाई थप व्यवस्थित गर्ने बाटो खुलेको हो ।’
गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग मन्त्रिपरिषदबाट पारित भएको नियमावलीअनुसार रायड सेयरिङ तथा सेल्फ ड्राइभलाई पनि नियमन गरिने छ ।




