| सोमवार, जेष्ठ १०, २०८३

पालुङ्टारप्रति प्रधानमन्त्रीको मोह, फिल्मसिटी बनाउन व्यवसायीहरुलाई सुझाव

‘नेपालमा फिल्मसिटी कहाँ बनाउने भनेर खोजी भएको धेरै भयो । पहिले पनि मैले भनेको थिएँ, पालुङ्टारलाई सिनेसिटीका रुपमा डेभलप गरौँ, कति गजब हुन्छ’, गत मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अहिले पनि मेरो भनाइ छ ।

त्यहाँ एउटा सानोसानो पुल बनाऔँ, हिरोइन रिसाएर कुद्दै गएर मस्र्याङ्दीमा हाम्फाल्छिन् । बहादुर हिरो दौडेर गएर जम्प गर्दा पनि त्यहाँ खतरा हुँदैन । देख्दा बहुत खतरनाक ठाउँमा उ हाम्फाल्छ र हिरोइनलाई बचाउँछ । दर्शकहरु दंग ।’ रोमाञ्चक पारामा उनले पालुङ्टारको बयान गरेको सुन्दा सहभागीमाझ हाँसोको पर्रा छुट्छ ।

उनी कल्पनामा लीन हुँदै भन्दै जान्छन्, ‘हिमालदेखिन्छ पृष्ठभागमा, माछापुच्छ्रे देखिन्छ, अन्नपूर्ण फस्ट देखिन्छ, अन्नपूर्ण सेकेण्ड देखिन्छ, गंगापूर्ण देखिन्छ । यतापट्टि मनास्लु, गणेश हिमाल देखिन्छ, गोरखा हिमाल, लम्जुङ हिमाल देखिन्छ सप्पै देखिन्छ र यता लाङटाङसम्म देखिन्छ ।’

पालुङ्टार हुुदै बग्ने मस्र्याङ्दीमा पौडिने तालिम गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘त्यसपछि पालुङ्टार सिनेमाका लागि अत्यन्त सहयोगी स्पट बनिहाल्छ । त्यहाँ डाँडा पनि छ, त्यहाँ सम्म पनि छ । त्यहाँ रेल कुदाउन सकिन्छ । नेपालमा रेल अब नयाँ कुरा होइन । जनकपुरमा रेल कुदिराख्याछ । तपाईँहरु गीत बनाउनु हुन्छ के ? (अभिनय गर्दै) दार्जिलिङको रेल… ।’

फेरि दर्शक माझ तालीको गड्गडाहट र हाँसोको अर्को पर्रा छुट्छ । उनी भन्दै जान्छन्, ‘जनकपुरको रेल किन नभन्या ? आफूले गरेको काम किन नदेख्ने ? हामीले अब रेल पालुङ्टारमा कुदाउने । होइन भने उता चेपेपारि रागिनासमा । लम्जुङ्तिर पनि त्यस्तो टारहरु छन् तर त्यहाँबाटचाहिँ हिमाल देखिँदैनन् किनभने भित्तामा पर्छन् ।’

लामो समय पालुङ्टारको भौगोलिक, प्राकृतिक अवस्थितिको प्रसंसा गर्दा पनि नथाकिकन प्रधानमन्त्री ओलीले अगाडि भन्दैगए, ‘माथि बन्दिपुर, पारिपट्टि डुम्रे, साहित्यमा रुचि हुनेलाई भानुभक्तको जन्मथलो । अझ अलिकति बढि नै रुचि हुनेलाई थोरै परतिर लेखनाथको जन्मथलो । प्राकृतिक सौन्दर्यका अरु ठाउँको पनि उपयोग गरौँ भन्ने हो भने फेवाताल, बेगनास ताल, रुपाताल, चेपाङ, मैदी, खास्टे विभिन्न तालहरुको आनन्द लिन सकिन्छ ।’

आसपासमा रहेका प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरुको पनि उनले वर्णन गर्दै पालुङ्टार नेपालकै एक उत्कृष्ट सिनेसिटीका लागि उपयुक्त स्थल रहेको दाबी गरे । ‘केवलकारमा सराङकोट, यता पञ्चासेको डाँडो, गीत बनाउनेलाई पनि त्यहाँ गएपछि गीत फुर्दो रहेछ । वौद्धगुम्बा, स्तुपाहरु, त्यो सहितको दृश्य मैले सोचेर त्यस ठाउँमा सिनेसिटी बनाउने हो भने दुनियाँका मान्छेहरु पनि सुटिङका लागि आउँथे’, उनले गम्भीरतापूर्वक भने ।

यसअघि गतबर्ष मध्यपहाडी लोकमार्ग हुदै राजनीतिक यात्रा गरेपछि समीक्षा कार्यक्रममा पनि उनले पालुङ्टारको मुक्तकण्ठले प्रसंसा गरेका थिए । ‘यो पालुङटार, एउटा पुलबाट उता त¥यो, अर्को पुलबाट यता त¥यो । अझै एउटा मिनी रेल पनि राखिदिने । सबै चिज यहाँ छ । त्यसकारण यो यो ठाउँ फिल्मसिटीका लागि उपयुक्त छ’, उनले भने, ‘कता–कता उता दोलखातिरको एउटा डाँडालाईप्रस्ताब गरेका छन् ।

सात दिनमा दुई दिन, त्यही पनि दुईघण्टा मात्र खुल्ने ठाउँ हो त्यो । कतिबेला सुटिङ गर्न भ्याइन्छ र त्यहाँ । यहाँ पालुङटार जस्तो ठाउँ छ, जहाँ पानीको सिन पनि खिच्न सकिन्छ, खोलाको पनि खिच्न सकिन्छ, हिमालको पनि खिच्न सकिन्छ । यता फक्र्यो एउटा हिमाल, उता फक्र्यो अर्को हिमाल । त्यसैले मैले भनेको स्मार्ट सिटी बनाऔं यसलाई । स्मार्ट सिटीभित्रको फिल्मसिटी पनि बनाऔँ ।’

गण्डकी प्रदेश नै कला र संस्कृतिको खानी भएको भन्दै उनले यसको उपयोग गर्न सक्नु पर्नेमा जोड दिए । यहाँ आर्ट विद्यालय बनाएर बालबालिकालाई सानैदेखि कलातिर आकर्षण गराउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्