
गुम्दाको आँखा उपचार शिविरको पहिलो दिन १९ जनाको शल्यक्रिया
धार्चे गाउँपालिका ५ गुम्दामा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविरमा मंगलबार पहिलो दिन १२६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य मंगलबार पहिलो दिनमा १९ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ ।
आँखा उपचार तथा शल्यक्रियामा वरिष्ठ आँखा रोग विशेषज्ञ कमलबहादुर खड्काको नेतृत्वको ६ जनाको टोली खटिएको छ ।
मंगलबार, बुधबार र बिहिबारसम्म सञ्चालन हुने शिविरमा गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरु खटिएका छन् । ‘शिविरमा गुम्दा, यमगाउँ, लप्सीबोट, खानीगाउँ र सिङ्लाका आँखाका बिरामीहरु आएका छन्’, मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘अझै दुई दिन बाँकी छ । चार, पाँचसय जनाको आँखा परीक्षण र उपचार गर्ने अनुमान छ ।’ आँखाका बिरामीहरुलाई निशुल्क औषधी तथा निशुल्क चस्मा वितरण गरिएको उनले बताए ।
वडाअध्यक्ष भीमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन सत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, मुटु फाउण्डेशनका अध्यक्ष गुरुङ, वरिष्ठ आँखारोग विशेषज्ञ खड्का तथा फाउण्डेशनकै प्रशासकीय अधिकृत कल्याण ढुंगानाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
मुटु फाउण्डेशन र मनोज एशोसिएशन फ्रान्सको आर्थिक सहयोग तथा व्यवस्थापनमा धार्चे गाउँपालिकाको स्वास्थ्य शाखाले शिविरको आयोजना गरेको हो । शिविरमा मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको छ ।




