
म गजल लेख्नलाई नै जन्मिएको रहेछु
शिव उप्रेती ।
नाम : प्रदीप रोदन,
बास्तविक नाम : प्रदीप पाण्डे
ठेगाना : पालुङ्टार नगरपालिका ९ पाण्डेवेशी गोरखा ।
कृति : मफलर(गजल संग्रह)
उनको परिचय यत्ति साँगुरो छैन । आङ सिरिङसिरिङ पार्ने गरी महफिल गुञ्जाउने उनको गजल गगन भेदन गर्नेगरी उकालो लागिरहेका छन् । राजधानी वा मोफसलका साहित्यिक संस्था अथवा समुद्रपारका नेपाली डायस्पोरामा उनको माग बढिरहेको छ ।
मेला महोत्सवका दर्शकदीर्घा प्राय पप र ¥याप गीतले मात्र उचाल्ने गर्छन् तर पछिल्लो दशकयता महोत्सवका दर्शकदीर्घा उनका गजलले पनि उचाल्ने, उफार्ने गरेका छन् । गीत, संगीतका पारङ्गतहरुले मात्र नेपालमा एकल साँझ मनाउने गर्छन् तर, उनले यसमा पनि नयाँ प्रवृत्ति भित्र्याए । अहिले प्रदीप रोदन एकल साँझ मनाउने परम्परा बसेको छ । उमेरले दुईबीसे नकटेका उनका गजलका शेरहरु कहिले सांसदले संसदमा सुनाउँछन्, कहिले नेताहरुले भाषणका मञ्चहरुमा । उनले सिर्जेका शेरहरु कहिले म्युजिक भिडियोका इन्ट्रोका रुपमा प्रयोग हुन्छन्, कहिले व्यापारिक विज्ञापनमा ।
अमेरिकी लेखक मार्क ट्वेन भन्छन् : जीवनका दुई दिन मान्छेका लागि अति महत्वपूर्ण हुन्छन् । पहिलो उ जन्मेको, दोस्रो किन जन्मेको भनेर थाहा पाएको दिन । उनी २०७३ सालमा दोस्रो जन्म भएको सम्झन्छन् । गजल साधनाको एक दशक नबित्दै यत्तिका सफलता हात पार्ने उनका अनुभव र अनुभूति कम्ति रोचक छैनन् :
उमेरले ३० कटिसकेको थिएँ । पेशाले शिक्षक थिएँ । अनि आंशिक समय रेडियो कार्यक्रम प्रस्तोता पनि । तैपनि मन तुलबुल तुलबुल, चञ्चल चञ्चल भइरहन्थ्यो । गरिरहेको काममा मन अडिरहेको थिएन । योचाहिँ मैले गर्न खोजेको काम होइन भन्ने भइरहेको थियो ।
कुरा २०६४ सालतिरको हो, रेडियो प्रस्तोताको नाताले साथीहरुले मलाई गोरखा बजारको कुनै होटलमा मोती जयन्ती मनाउन बोलाउनु भयो । सहभागीहरुले गजल वाचन गर्न थाल्नुभयो । एकसे एक गजल सुनेपछि एकाएक मेरो मन एकाग्र भयो । अनि मेरो हृदयले खोजिरहेको यही गजल त होइन भन्ने सोच्न थालेँ । कार्यक्रमभरि मन अडियो । सन्तुष्टि मिल्यो । मलाई बाहिरि कुराले, अन्य कुराले छोएन, अरु आकर्षणले तानेन । यहाँनेरचाहिँ मेरो मन सितल भयो ।
त्यहाँबाट फर्केपछि मैले विस्तारै गजलमा कलम चलाउन सुरु गरेँ । तर गजल साधनाचाहिँ त्यसको चारबर्षपछि मात्र गर्न थालेँ ।
मलाई गजलमा चुर्लुम्म पार्ने मेरो पुरानो घरको त्यो झ्याल सम्झन्छु । भूकम्प आउनुअघिको त्यो घर २०७२ सालको भूकम्पले माटोमा मिलाइदियो । प्राय साँझको समय, आफ्नै कोठाको उत्तर फर्केको एउटा झ्याल थियो । त्यसको एकछेउ, जहाँबाट बाहिरि संसार चियाउन मिल्थ्यो ।
त्यही मेरो गजल साधना गर्ने थलो थियो । मेरो दोस्रो जन्म भएको त्यही झ्याल हो, जहाँबाट आकासको ठूलै भाग देखिन्थ्यो, खोलानाला, जंगल पनि देखिन्थ्यो । जसले मलाई जन्मायो त्यो अहिले छैन । गजल लेख्न म कहिले छतमा निस्कन्छु, कहिले चौतारोमा । परिबारले पनि मलाई पूरै साथ दिनुभएको छ । सुरुसुरुमा त किन देशमा बसिरा’छस्, किन गाउँमै बसिरा’छस् भनेर आर्थिक संवृद्धिको बाटो रोज्न बाध्य पार्नुभएको थियो ।
तर मलाई त्यसो गर्न आएन । ३० बर्षको हुँदासम्म दोहोरी गाउने, खेलकुदमा रमाउने खालका साथी संगति मात्र जोडिरहेको थिएँ । तर त्यसपछि त्योभन्दा अलिक फरक परिवेश, फरक वातावरण, फरक साथी संगति, फरक संसार फेला पारेँ । २०७३ सालको त्यो प्रस्थानविन्दू जहाँ, मेरो दोस्रो जन्म भयो जस्तो लाग्छ ।
सुरुवाती साधनामा दिनकै १०, १२ वटा गजल लेखेँ । सबै गजल सामाजिक सञ्जालमा राखेँ । कस्ता गुणस्तरका हुन्थे कुन्नि, पाठक दर्शकलेचाहिँ रुचाउनु हुन्थ्यो । ठिकै लेखेझैँ लाग्छ । अहिले पनि साधना घटेकोचाहिँ छैन, मात्रा घटेको हुनसक्छ । नलेखेको दिन त छैन । पूरै गजल लेखिन भने पनि कुनै न कुनै मन छोएको शेरचाहिँ लेख्छु ।
हिजो परिचय बनाउनुभन्दा अघि मेरो सेरोफेरोमा साहित्यिक संघसंस्था थिएन अथवा कम थिए । मैले टेक्ने हाँगो, समात्ने डालो कम छ त्यसैले अघि बढ्ने हो भने मैले सामाजिक सञ्जालको फेरो समातेर हिँड्नुपर्छ भन्ने निचोडमा पुगेको थिएँ । मलाई अहिले पनि लाग्छ, मलाई यत्तिको बनाएको नै सामाजिक सञ्जाल, फेसबुकले नै हो ।
हरेक दिन जब फेसबुक खोल्छु, त्यहाँ तिम्रो दिमागमा के छ प्रदीप ? भनेर सोधिरहेको देख्छु । अनि यसले मलाई केही लेख्न चुनौति दिएको सम्झन्छु । मेरो दिमागमा केही पनि नभएको त होइन नि भन्ने ठानेर लेख्न बस्छु । यसरी जन्मन्छन् प्राय मेरा गजलहरु ।
लेखेका अधिकांश गजल राज्य व्यवस्थासंग सम्बन्धित हुन्छन् । समय बदलिएसंगै लालटिन बेच्ने सन्दर्भकाजस्ता कतिपय गजल समय सापेक्ष नहुँदा मर्न सक्छन् । जीवन नभएका, आयु नभएका गजलहरु पनि छन् तर, हाम्रो दुर्भाग्य त्यस्ता गजल पनि सितिमिति मरेका छैनन् ।
म अहिले पनि गाउँमै बस्छु, गाउँमै लेख्छु । मलाई लेख्न संसारमा अर्को ठाउँ छ जस्तै लाग्दैन । म जुन माटोमा लडेँ, जुन खोला तरेँ, जुन रुखमा चढेँ म त्यहीँ बसेर लेखिरहेको छु । लेखिरहनेछु । गाउँमा बसेर मैले संसारमा पछिल्लो चरणमा चलेका धार वा प्रवृत्तिसंग अपडेट हुनुपर्छ भन्ने लाग्दैन । मैले आफैसंग अपडेट हुनुपर्छ भन्ने मात्र लाग्छ ।
हिँजो हामीले गजल लेख्न सुरु गर्दा श्रृङ्गारिक धारका गजलहरु थिए । त्यसमा अलिकति जोखिम मलेर समसामयिक परिवेश, राज्य व्यवस्थासंग सम्बन्धित गजलहरु लेख्ने धारको विकास गरेँ । धर्म, दर्शनसंग सम्बन्धित गजलहरु पनि छन्, त्यस्ता गजल सामाजिक सञ्जालमा राख्दिन । त्यो सबैलाई रुचि नहुन सक्छ भनेर ।
मेरो अर्को बानीचाहिँ के छ भने म अरुको गजल पढ्दिन । गजलमा म मेरै फ्लेभर दिनुपर्छ भन्ने लाग्छ । अरुको पढेँ भने अरुको प्रवृत्तिबाट प्रभावित हुन्छु कि भन्ने डर लाग्छ त्यसैले अरुको गजल पढ्दिन । बरु अरु नै विधा पढ्छु । कतिवटा गजल लेखेँ भनेर त गनेको छैन तर, मेरा गजलहरुले २२, २५ वटा डायरी भरिएका छन् । जानेर, नजानेर मफलर गजल संग्रह प्रकाशन गरिहालेँ ।
अब गजलसंग्रह प्रकाशन गर्दिन । म संग्रहित भएर हेरिहालेँ । अब नगर्ने, खुल्लै छोड्ने, छरपस्ट छोड्ने । सामाजिक सञ्जालमा सजिएका सबै मेरो संग्रह नै हो, ओपन संग्रह । मेरा गजलहरु सबै उस्तै छन् । मेरा सिर्जनाहरु मेरा लागि बराबर हकदार हुन् । कुनैलाई रोजेर पुस्तकमा सजाउने, कुनैलाई छोड्ने गर्दा पक्षपात गरेजस्तो हुन्छ । अब सबैलाई समान हैसियत दिने । सामाजिक सञ्जाल, युटुब च्यानलमा राखिदिने, ओपन बुक बनाउने । खोज्नेले पाउन् ।
गाउँ पनि नछोड्ने, गजल संग्रह पनि ननिकाल्ने यही हो मेरो आफ्नोपन । जतिबेला मलाई पैसा चाहिन्थ्यो, जतिबेला वैंक व्यालेन्स गर्नुपथ्र्यो, जतिबेला मैले घरघडेरी जोड्नुपथ्र्यो त्यतिबेला पैसाभन्दा मेरालागि सिर्जना ठूलो भनेर हिँडेको हुँ । अब गाउँ छोड्नु पनि छैन, संग्रहित हुनु पनि छैन, बाँधिनु पनि छैन । अरु क्षेत्रले लोभ्याएको पनि छैन ।
गाउँमा गजल साधनामा लाग्ने म एक्लै हो । साथीसर्कलमा गजलसम्बन्धी बहशै हुदैन । संगत पनि छैन । संगतले फेरि ज्ञान मात्र दिँदैन, गफ सुन्ने पनि बनाउँछ, गफ गर्ने पनि बनाउँछ । म एक्लै छु । कापीसंग कुरा गर्छु, कलमसंग कुरा गर्छु । मेरा लागि त्यो गाउँ, त्यो एकान्त नै काफी छ । दाई के लेखेको छस् सुना न भन्ने एकदुई जना भाइहरु नै काफी छ ।
अहिलेसम्म कतिवटा गजलका कार्यक्रममा सहभागी भएँ भन्ने सूची नै छैन । दुईसयभन्दा धेरै कार्यक्रममा गएँ जस्तो लाग्छ । यी सबै प्राय एकल गजल वाचन नै हो । मफ्लरपछि अहिलेचाहिँ के लाग्छ भने १० जना हुन् वा २० जना हुन्, मलाई सुन्न आउनेहरुलाई सुनाउने हो । त्यसैले अचेल म विज्ञापन पनि नगरी, व्यानर पनि नबनाईकन कार्यक्रममा हिँड्ने गरेको छु ।
कोही त्यही गजल सुन्न भनेर दूरदराजबाट गाडी चढेर आएका हुन्छन्, कोही टिकट काटेर आएका हुन्छन् तर लाइभ गर्दिएर कोही त्यही कार्यक्रम घरमा ओछ्यानमा सुतेर हेरिरहेका हुन्छन् । त्यसैले अब यस्तो नगर्ने परम्परा बसालेको छु । पहिले त जतिसक्दो धेरैले हेर्दिए, सुन्दिए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले लाग्दैन ।
गजल अहिलेको व्यस्त मान्छेहरुका लागि बनेको विधा हो । अहिलेका मान्छेलाई लामो विधा पढ्ने समय छैन । छोटो समयमा पढ्न सकिने विधा भएकाले यो अब झन् झन् लोकप्रिय बन्छ । गजल त अब झन् एक सेरमा झर्छ भन्ने लाग्छ । गजल साधनामा धेरै ठूला झमेला पनि ब्यहोर्नुप¥यो ।
म एक्लै गाउँमा बसेर सिर्जना गर्नेमाथि संगठित रुपमा लाग्नेहरुबाट ठूलो प्रहार भयो । यसले मलाई अझै तिखारिने, अझै निखारता ल्याउनमा मद्दत ग¥यो । त्यसैले उहाँहरु मेरा मार्गदर्शक बन्नुभयो । अब त्यस्ता तगाराहरु पनि मेरा यात्रामा छैनन् । बाटो सफा छ, मेरो यात्रा जारी छ, निरन्तर छ ।




