| मङ्लबार, कार्तिक २४, २०८३

बूढीगण्डकी आयोजना छिटो निर्माण आरम्भ होओस्

देशकै मुहार परिवर्तन गर्ने भनेर अनुमान गरिएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बन्दैन पनि कोही भन्दैनन्, बन्दा पनि बन्दैन । सरकार बदलिएपिच्छे मोडालिटी बदलिने, सरकार बदलिएपिच्छे निर्माता बदलिने गरेर गोलचक्करमा फँसिरहेको छ ।

अहिलेसम्मको अबस्था हेर्दा यो आयोजना बन्छ कि बन्दैन, कहिलेबाट सुरु हुन्छ भन्ने कुरा रहस्यकै गर्भमा छ । बि.सं. १९८० को दशकदेखि चर्चा सुरु भएको, वि.सं. २०३५ सालतिर फेरि चर्चा गर्न थालिएको बूढीगण्डकी जलविद्युत आयोजनाको फाइल २०६९ सालमा प्रधानमन्त्री बनेपछि डाक्टर बाबुराम भट्टराईले खोले । १०, १२ बर्ष बितिसक्दा जहाँको तहीँ देखेपछि उनै भट्टराईले प्रमुख दलका तीन शीर्ष नेताले ९ अर्ब कमिशन खाएको आरोपसमेत लगाए । परिबन्धमा परेर मिथ्या आरोप लगाएको भनेर याचना पनि गरे ।

भलै जे होस्, आयोजना बन्ने सुरसार छैन । घरजग्गाको मुआव्जा वितरण गरिसकियो । धन्नै ४४ अर्ब रुपैयाँ मुआब्जामा सिद्धियो । अझै रुखविरुवाको मुआव्जा वितरण गर्न बाँकी नै छ । दुईबर्षभन्दा धेरै भयो, सो आयोजनाको कुनै पनि काम अघि बढेको छैन । प्राधिकरणले नै सो आयोजना बनाउने भनेर कम्पनी खडा गरी कार्यालय स्थापना गरेको थियो, तर अहिले कुनै पनि काम अघि बढेको छैन ।

आयोजना प्रभावित क्षेत्रमा कुनै पनि विकास निर्माणको कामका लागि बजेट विनियोजन भएको छैन । जिल्लाकै दोस्रो ठूलो बजारका रुपमा रहेको आरुघाट बजारमा बाटो ढलान गर्ने भनी योजना घोषणा भएको थियो, तर अहिले सो योजना नबन्ने भनेर रद्ध भयो । स्थानीयबासी यस नयाँ घोषणाबाट निराश भएका छन् । कि आयोजना बन्नुपर्छ, कि विकास निर्माणको काम हुनुपर्छ भन्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्