
महासत्वले वोधिसत्व प्राप्त गरेको स्थान नमोवुद्ध
लेविन्द्र गुरुङ । पाञ्चाल (पनौती) देशका राजा महारथका कान्छो छोरा महासत्वले जंगल विचरणको समयमा अभयदान दिएर वोधिसत्व् प्राप्त गरेको हुनाले वौद्धहरूले यस भूमीलाई पवित्र मानिएको रहेछ । काठमाण्डौदेखि ४० किलोमिटर पूर्वतर्फ धुलिखेलसंगै सिमाना जोडिएको नमोवुद्ध नगरपालिकाको वडा नं. ११ मा एक मनोरम वौद्ध धार्मिक तिर्थस्थल छ ।
नेपालका प्रसिद्ध चारवटा बौद्ध तिर्थस्थलहरूमध्ये लुम्विनी, स्वयम्भु, बौद्धनाथ त्यसपछि नमोवुद्ध छ, जसलाई इष्टप्रदेशको वौद्ध तिर्थस्थल मानिन्छ । वुद्धकाबारे लेखिएका धेरै आख्यानहरूमध्ये वौद्धजगतलाई मात्र नभई त्याग, करूणाभाव तथा चराचरका सम्पूर्ण प्राणी हितमा समर्पित हुने सबैको लागि सन्देश हो नमोवुद्धका कथाहरू ।
शाक्यमुनी वुद्धको समयभन्दा पनि अगाडि राजा महारथका ३ छोराहरू महादेव, महाप्रसाद र महासत्वसहित राजपरिवारका सदस्यहरू नामव्रु ९हिरण्यगिरी०को जंगल विचरणामा जाँदा एउटा वघिनी र ५ वटा स÷साना डमरूहरू खान नपाएर झण्डै मर्ने अवस्थामा ओडार ९गुफा०मा भेटिन्छन । कान्छो भाई राजकुमार महासत्वलाई यो दृष्यले दयाभाव उत्पन्न हुन्छ र उनले दाजुहरूसंग यीनिहरूलाई वचाउने उपयवारे जिज्ञाँसा राख्दा सबैको एउटै निषकर्ष आउँछ, ताजा रगतसहितको मासु ।
तत्काल त्यहाँ त्यस्तो कुनै उपाय भेटिएन तर कान्छो भाई महासत्वलाई भने झनझन डमरूहरूलाई वचाउनेवारे सोंचाइ वढ्न थाल्छ । केही समय घुमेर उनीहरू जंगलवाट फर्कदैं गर्दा वीच बाटोमा पुगेपछि भाई महासत्वले भने ूदाजु तपाईहरू हिंड्दै गर्नुस म छिटै फर्कन्छु भन्दै जंगलतर्फै लागेू । त्यसपछि उनी सिधै वघिनीको ओडारमा गई बघिनीको मुखमा आफ्नै हात राखिदिए तर वघिनी धेरै कम्जोर भई टाउकोसमेत उठाउन नसक्ने भएकोले केही गरेनन् ।
त्यसकारण उनी आफैंले हातमा घाउ वनाएर रगत निकाली मुखमा लगाई दिएपछि विस्तारै रगत चाट्न थाले । ताजा रगत चाट्दै र चुस्दैचुस्दै बलियो भएपछि उनलाई आक्रमण गरी वघिनी र डमरूहरूले खाईदिए । उनको तातो रगतले वघिनी र ५ वटा डमरूको ज्यान बचाइदियो । धेरै समयसम्म पनि भाई नफर्किए पछि उनीहरू खोज्न जाँदा महासत्वको कपडा र हाड कंकाल मात्र वाँकी भेटाए । राजपरिवारको अलापविलापपछि ती राजकुमारको अस्थिधातु जम्मागरी समाधि वनाइएको थियो ।
त्यसरी निर्माण गरिएको चैत्यमा भगवान वुद्ध पुगेर नतमस्तक हुनुभएको हुँदा त्यो चैत्यको नाम नमोवुद्ध भएको मानिन्छ ।
यस्तो प्रसिद्ध वोधिसत्वको समाधिस्थल नजिकै महायानी वौद्ध सम्प्रदायले सन् १९७८ देखि केही जग्गाजमिन प्राप्त गरी सुविधा सम्पन्न गुम्वाहरू वनाएका छन् । अहिले त्यहाँ २५० जना भिक्षुहरू ध्यान साधना गर्दै वौद्धशिक्षा ग्रहण गरिरहेका छन । जसलाई थ्राङ्गु ताशी याङ्त्से गुम्वा भनिन्छ र उक्त आकर्षक विशाल मोनाष्ट्रीले जो कोहीको शिर झुक्छ ।
धेरैले देखेकोको र वुझेको नमोवुद्ध त्यही अगाडिको गुम्वा रहेछ । वास्तवमा राजकुमारले आफ्नो शरीर बघिनीलाई सुम्पेको र त्यसको लगभग पाँचसय मिटर तल महासत्वको अस्थिधातु राखेर वनाइएको ऐतिहासिक नमोवुद्ध(छोर्तेन)सम्म पुग्नेहरू भने विरलै रहेछन् । त्यहाँ मठभित्र वज्रचार्य नेवार र गुम्वा भित्र नमोवुद्ध भगवान घ्याङ गुठीका लामा/तामाङ दुईजना पूजारीहरूले नित्य पूजा गर्ने गरिन्छ । यी संरचनाहरू सन् ९७४ मा निर्मित पुरातात्त्विक महत्वका भएतापनि धेरै दर्शनार्थीको नजरमा पर्न सकेको देखिंदैन ।
किनकि त्यो क्षेत्र ओझेलमा पर्दो रहेछ, हामीकहाँ पूर्वलाई संम्मुख र पश्चिमलाई विमुख भनिए जस्तै उक्त स्थान प्राकृतिक रूपमा घना जंगलले ढाकिएको र जमिन पनि भिरालोहुँदा त्यसतर्फ दर्शनार्थीहरू आफैलाई के छ भन्ने हेक्का वा जिज्ञांसा हुँदैनन् । थ्राङगु ताशी याङ्त्से गुम्वा निजी एवं एउटा सम्प्रदायले निर्माण गरिरहेको छ भने नमोवुद्ध चैत्य नेपाल सरकार मातहत गुठी संस्थानको जिम्मेवारीमा भएतापनि अगाडिका जस्ता आकर्षक छैनन् ।
यी अवस्थाहरू सामान्य वन्नुका कारणहरूवारे पहिला वुद्धकालिन गतिविधिहरूलाई स्मरण गर्नै पर्ने हुन्छ । भगवान वुद्धले राजसी विलासिता र परिवार त्यागेर वुद्धत्व प्राप्त गरेका थिए । भिक्षु जीवन भविष्यमा पवित्र रूपले टिकाउन चतुपच्चय (चार प्रत्यय) जस्तै चीवर (वस्त्र) पिण्डपात्र (आहार), सयनासन (वासस्थान) र गिलान पच्चय (औषधि) र पछि भिक्षु जीवनामा विचलनहरू देखा परेपछि थप अज्झापन (शिक्षा) अपरिहार्य रहेछ भनेर थपिए ।
अर्को परीक्षणको घडी, मगध साम्राज्यको वैभव फैलिरहेको समयमा चम्पाका सुकुमार सोंण कोटीविंस अत्यान्त कोमल हुनाको साथै उनको पैतालामा समेत रौं पलाएका थिए, त्यही हेर्न र केही सुझाउन मगध सम्राट विम्विसारले उनलाई वोलाए । सोंणलाई सम्राटले भेटेपछि ‘मैले जन्महितकोबारे बताएं तर जन्मान्तरको हितकाबारे सुन्नेभए भगवान वुद्धको सेवामा हिंड,’ भनेपछि उनी पनि सहमत भए ।
महाश्रमणले सम्वोधन गरेर दानकथा, शिलकथा, स्वर्गकथा, कामभोगहरूको दुष्परिणाम, उपकार आदिबारे वर्णन गरे । सोंणले धर्मोउपदेशलाई बुझेर घरमा बसेर ब्रह्मचर्य संभव छैन, वेघर भएर प्रव्रजित हुन चहान्छु भनेपछि उनलाई प्रव्रज्या र उपसम्पदा दिए । उनलाई सीतवनमा विहारका लागि स्थान मिल्यो । सोंण कहिल्यै खाली खुट्टा नहिंडेकाले उनी हिंडेपछि भुइँभरि रगताम्ये भए, तथागतले यो देखेर सोंणलाई तिमी सुकुमार छौ त्यसैले खराउ लगाउ भने तर उनले त्यसवेलासम्म धेरै वुझिसकेका हुँदा भिक्षु संघका लागि पनि अनुमति दिनुभयो भने लगाउँछु नभए म एक्लै लगाउँदिन भनेपछि त्यसवेलादेखि सबै भिक्षुहरूले खराउ लगाउने अनुमति पाए ।
यसरी खराउ लगाउन पाउने अभ्यासवाट अगाडि वढेको भिक्षुसंघ केही समयपछि वुद्धलाई भिक्षा दिने र भोजन गराउनेमा राजामहाराजाहरूको प्रतिस्पर्धा हुन थाल्यो । गृहपति अनाथपिण्डक श्रावस्ती पुगेको समयमा आफ्नै सालोले भिक्षुहरूसहित वुद्धलाई भोजन गराइरहेको देखेपछि उनी अचम्मित भए र उनले पनि झन ठूलो योगदान पुर्याउने सोंचले भगवान कहाँ निवास गर्न उपयुक्त होला भन्ने सोंच्न थाले र तुरून्तै जैतराजकुमारको जैतवनलाई १८ करोड स्वर्ण मोहोर खर्चगरेर खरीद गरी विहार वनाइदिए ।
त्यसपछि भिक्षुहरूलाई वर्षावासको समस्या भएन, यसरी जेतवन हुँदै ठाउँठाउँमा सुविधायुक्त विहारहरू वन्दै गए ।
मानव जीवन दुखमय छ, दुखको कारण छ, दुख निवारण हुन्छ र दुख निवारणको उपाय पनि छ, यी चार आर्यसत्य वुद्धका प्रारम्भिक ज्ञानसूत्र हुन । दुखको मुख्य कारण तृष्णालाई लिईएको छ । लोभ, मोह, विलासिता इर्ष्यां आदिले नै तृष्णा उत्पन्न गर्छ र जसको त्याग अनिवार्य छ ।
त्यसरी त्यागको लागि चार प्रत्यय अनुमति पाएकाहरू कालक्रमसंगै केही आधारभूत आवश्यक्ताहरू थपिंदै जाँदा र सहजै उपलव्ध हुँदा बुद्धलाई अलौकिक बनाई देवताको रूपमा प्रस्तुत गरी पूजाआजा गर्न थाले । निर्वाणको लागि देवताको आशीर्वाद भए पुग्ने र मन्त्रहरू उच्चारण गर्दै तान्त्रिक विधिबाट मोक्षप्राप्त हुने विश्वास बढ्दै जान थाल्यो । हुँदाहुँदै करडौं अरवौं खर्च गरेर आकर्षक गुम्वा तथा विहारहरू र महँगा भौतिक संरचनाहरू निर्माण हुन थाले ।
यी वौद्धहरूका मात्र होइनन्, अन्य चर्च, मठमन्दिर र मस्जिदहरू झन आकर्षक र महंगा वनेका छन्, एउटैमा हजारौ केजी सुनजडित स्वर्णमन्दिरहरू देख्न सकिन्छ । छवटा पारमितासहितको अभयदानसम्म प्रयुक्त भएको वौद्ध जगतमा सानाठूला दानभेटी व्यवस्थापन हुनु राम्रै भयो । भक्तजनहरूको स्वइच्छाले योगदान गरे मोक्ष प्राप्ति हुने भन्ने विश्वासले संसार भरका धार्मिक संरचनाहरू अतुलनीय छन् ।
यस ऐतिहासिक नमवुद्धको नामवारे वौद्ध जगत जानकार छ, यसको नाममा साना/ठूला व्यवसाय पनि भएका होलान, सबैभन्दा राम्रो त स्थानीय पालिकाको नामाकरण नै नमोवुद्ध नगरपालिका भएको छ । जसको नामवारे यति धेरै चर्चा छ उनैको वास्तविक अवस्था भने आफै ओझेलमा पर्नुमा हाम्रो पनि अवश्य कमीकमजोरी होलान् तर सरकारले पहल नगरी उपेक्षा गरेको हो भने सिङ्गै वौद्ध जगतलाई उपेक्षा गरेको ठहर्छ । त्यसैले सवै सरोकारवालाहरूको ध्यान पुगोस, २५६९ औं वुद्ध जयन्तीको हार्दिक शुभकामना ।




