| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी जलविद्युत आयोजना यो बर्ष पनि सुरु नहुने प्रधानमन्त्रीको स्पष्टोक्ति

यसबर्ष सुरु गर्न त्यसको पूर्वाधार तयार भएको हुनुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा वलीले बूढीगण्डकी जलविद्युत आयोजना चालु आर्थिक बर्ष नबन्ने संकेत गरेका हुन् । ‘तर त्यो बनाउने हो । त्यसलाई खेरजान दिनुहुँदैन’, संसदमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेको सवालको जवाफ दिँदै उनले भने ।

यसअघि गोरखा घर भएका प्रमुख सचेतक पाण्डेले संशोधनमा पनि सो विषय राखेको तर बेवास्ता भएको दाबी गरेका थिए । ‘राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण यसै आर्थिकबर्ष २०८२/०८३ मा सुरु हुनेबारे मैले संशोधनमा पनि आफ्नो विषय राखेको थिएँ । यसबारे जवाफ आएन । यसबारे सरकारको के योजना छ ?’ आइतबार प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पास गर्नुअघि प्रधानमन्त्रीलाई प्रमुख सचेतक पाण्डेले सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री वलीले भने, ‘बूढीगण्डकी यसैपल्ट सुरु हुन्छ कि हुदैन भन्नुभ’को छ । पूर्वाधार, त्यसको आधार अलिकति पुगिनसकेको हुनाले कतिबेला सुरु हुन्छ त्यो भन्न सक्दिन । यसैबर्ष सुरु हुन्छ कि हुँदैन । यसबर्ष सुरु हुनलाई त त्यसको केही पूर्वाधार, ठेक्कापट्टा आदि इत्यादि डिजाइन कस्तो खालको प्रोजेक्ट बनाउने हो भन्ने कुरा सबै पूर्वाधार तयार भएको हुनुपर्छ । त्यो अलिकति पुगेको छैन । त्यसो भएर यसैबर्ष सकिन्न कि । त्यो बनाउने हो । त्यसलाई खेर जान दिने होइन ।’

प्रधानमन्त्रीको जवाफ सुनेपछि बूढीगण्डकी आयोजना सञ्चालन हुने क्षेत्रका सांसद राजेन्द्र बजगाईले एउटा लामो ट्वीट गरेका छन् ।‘दुर्भाग्य ! बूढीगण्डकी आयोजना अझै पूर्वतयारीकै खोलामा बगिरहेको छ।सम्माननीय प्रधानमन्त्रीले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारी, अध्ययन र अनुसन्धान अहिलेसम्म पूरा नभएकाले यो वर्ष आयोजना अघि नबढ्ने स्पष्ट पार्नुभएकोछ । गोरखाका सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बूढीगण्डकीलाई चुनावी एजेन्डा बनाउनु भएको थियो। त्यसबेला पनि कांग्रेस सत्ता साझेदारमै थियो भन्ने कुरा मैले बिर्सिएको छैन ।’

४४ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ, नागरिकबाट इन्धन खरिद गर्दा संकलन गरिएको बूढीगण्डकी करको रकम खर्च सुनकोशी नारायणीतिर रकमान्तर भइरहकेको परिदृश्य देखेकै हौं। २/३ दशकदेखि अध्ययन चलिरहेको र १२ वर्षदेखि अनिश्चिततामा अल्झिएको बूढीगण्डकी आयोजना अझै पूर्वतयारीकै खोलामा बगिरहेको छ।’ न बूढीगण्डकी बन्ने, आयोजना क्षेत्र(डुबान)को कारण देखाउँदै न विकास निर्माणको काम हुने भन्दै सो क्षेत्रका बासिन्दामा भने चरम निराशा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्