
बेहद पढाइका लागि लालबहादुर पथ
अघि छ बर्षको भएपछि श्रीपञ्चमी(वसन्त पञ्चमी)को दिन पारेर अक्षरारम्भ गर्ने चलन हो । त्यसपछि पाठशालामा कक्षा १ मा भर्ना भएर पढाइ थालनी हुन्थ्यो । अहिले अढाइबर्षमै(अझै कोही कसैले दुईबर्षमै) आफ्ना सन्तानलाई किण्डरगार्डेन, मण्टेश्वरी, नर्सरीजस्ता संज्ञा दिइएका शैक्षिक थलोमा भर्ना गरिदिन थालेका छन् ।
यसले बाल विकासमा कति, कस्तो प्रभाव पार्ला त्यो छुट्टै अध्ययनको विषय हुन सक्ला । बालबच्चा पढाउनका लागि भनेर डाँडाकाँडादेखि दुई, अढाइ बर्षका बालबच्चा बोकेर आमाहरु सहर झर्ने गर्छन् । यसले हाम्रा पहाडहरु वृद्धवृद्धाको आश्रम बन्दैछन्, बालबच्चा बिहिन हुँदैछन् र यस्तै रीतले हाम्रा पहाड कहिले पूरै रित्तिन्छ भन्ने पनि अर्को अध्ययनको विषय बन्न सक्ला । तर आमाहरुले पढाइतिर अभिभावक असाध्यै सचेत छन्, चिन्तित छन् भन्नेचाहिँ पुष्टि हुन्छ ।
यही समाजमा लालबहादुर विश्वकर्मा फरक दृष्टान्त हुन् । पालुङ्टार नगरपालिका ६ गाईखुरका उनी अहिले कक्षा १२ को परीक्षा दिइरहेका छन् । उनी उमेरले ६८ बर्ष पुगे । नेपाल प्रहरीको जागिर छाडेर उनी रिटायर्ड जीवन बिताइरहेका छन् । रगृहस्थीको समेत तनाब नलिई आनन्दको जीवन बिताउनु पर्ने बेला विभिन्न विषयका कडा परिश्रम गरी पढेर जाँच दिइरहेका छन् । उनी भवानी माविमा पढ्छन् र अहिले अमरज्योति जनता मावि केन्द्रमा परीक्षा दिइरहेका छन् ।
कक्षा १२ को अध्ययन पूरा गरेपछि उनलाई कानून विषयमा स्नातक गर्ने रहर छ । वकिल बनुँला, फेरि जागिर खाउँला वा फर्म खोलेर रोजगार, स्वरोजगार गरुँला भन्ने लक्ष्य होइन तैपनि विषयबस्तुको ज्ञान लिने ध्येयले उनले उच्च शिक्षा अध्ययन गरिरहेका हुन् ।
यसले पढाइको कुनै सीमा हुदैन भन्ने सन्देश मात्र दिएको छैन, उमेर पुग्यो, अब के गर्नुछ र ? अबको बाँकी जीवन रामरसमा मात्र बिताउने हो भन्ने रुग्ण विचार त्याग्नुपर्छ । अध्ययन गरेर ज्ञान आर्जन गरेर कहिल्यै सिद्धिदैन । त्यसैले पढिरहनु पर्छ, अध्ययन गरिरहनुपर्छ भन्ने शिक्षा लिनुपर्छ ।




