| सोमवार, कार्तिक २३, २०८३

मनासलु हिमाल आरोहण दिवस विविध कार्यक्रम गरी मनाइयो

६९ औँ मनासलु हिमाल आरोहण दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिका, पर्यटन बोर्ड, टे«किङ ऐजेन्सि एसोसिएसन अफ नेपाल (टान) र गोरखा होटल संघको संयुक्त आयोजनामा शनिवार अन्तरक्रिया कार्यक्रम भएको हो ।

जिल्ला सदरमुकाममा भएको कार्यक्रममा ‘ग्रामिण पर्यटन प्रवद्र्धन’ सम्बन्धी अन्तरक्रिया भएको हो । टानका पदाधिकारी र गोरखा नगरपालिकाबीच समग्र जिल्लाको ग्रामिण पर्यटनको अवस्था र त्यसको विकासको विषयमा छलफल भएको नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त अधिकारीले बताए ।

गोरखामा पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया समेत भएको उनले जानकारी दिए । पूर्वधार विकास, होटल व्यवस्थापन र गुणस्तरीय सेवा प्रदानमार्फत जिल्लामा पर्यटन विकास गर्न सकिने छलफलले निष्कर्ष निकालेको छ ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा टान गण्डकी प्रदेशका अध्यक्ष कृष्ण आचार्य, पर्यटन बोर्ड पोखराका कार्यालय प्रमुख मणिराज लामिछाने, गोरखा होटल संघका अध्यक्ष केशव कुँवर तथा होटल व्यवसायी, गोरखा नगरपालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ । कार्यक्रमको अवसरमा सामागाउँका तीन आरोहीहरुलाई सम्मान गरिएको छ । मनासलु हिमाल आरोहण गर्ने सामागाउँमा मिङमार लामा, डिकी ल्हामु लामा र नाङसल छोटेन लामा सम्मानित भएका हुन् । दिवसको अवसरमा महिलाहरूबीच मेज घुमाइ, तथा महिला र पुरुष दुबैबीच घैटो फुटाइ प्रतियोगिता भएको मनासलु संरक्षण क्षेत्र एमक्यापले जनाएको छ । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार दिइएको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल मनास्लुकोसन् १९५६ मे ९ मा प्रथम पटक जापानी नागरिक तोसीे इमानुसी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले आरोहण गरेका थिए । सोही आरोहणको ६९ औँ वर्षको अवसर पारेर दिवस मनाइएको हो । चुमनुब्री गाउँपालिका वडा नं १ का वडासदस्य दिक्षन डोल्मा हिराचन लामाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख शेरचन, सशस्त्र प्रहरी बल साम्दोका प्रहरी निरीक्षक धर्मराज पण्डित क्षेत्रि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्