
३ बर्षमा काठेपोल विस्थापन हुने ,रु. ४६ करोड लाग्ने अनुमान
अनुपमा खनाल
गोरखामा विद्युत विस्तारका क्रममा प्रयोग गरिएका काठेपोल विस्थापन गर्न कम्तिमा ३ वर्ष लाग्ने देखिएको छ । ७ बर्षअघिदेखी हरेक वष्र्ष काठेपोल हटाउँदै स्टिलको पोल राख्दै आएको विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्रले अब ३ वर्षमा काठेपोल विस्थापन गर्ने लक्ष्य लिएको छ ।
नगरपालीका क्षेत्रमा २ बर्षभित्र र गाउँपालिकामा ३ बर्षसम्ममा काठेपोलका ठाउँमा फलामे पोल फेर्ने लक्ष्य रहेको केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
‘स्थानिय तहसँगको सहकार्य र समन्वयमा हामी काठका पोल विस्थापन गर्ने लक्ष्य लिएका छौ ।’उनले भने‘ मुख्य प्रशारण लाइनमै ५ सय बढि काठेपोल भएकाले बेलाबेला विद्युत आपूर्तिमा अवरोध आउँछ । शाखा लाइनमा गाडिएका काठेपोल पनि जीर्ण बन्दै गएका छन् । यसले दुर्घटनाको जोखिम छ । त्यसैले हामी फलामे पोल राख्ने अभियानमा छौ ।’
विद्युत लाइनमा समस्या आएमा जीर्ण पोलमा चढेर मर्मत गर्न पनि समस्या रहेको उनले बताए । आफ्नो ठाऊँमा छिटो विद्युत लाइन विस्तार गर्नका लागि स्थानीय बासिन्दाले जथाभावी काठेपोल गाडेका हुन् ।
जिल्ला भर काठेपोलको ठाउँमा फलामेपोल राख्न ४६ करोड ५ लाख २० हजार रुपैया खर्च लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले तयार पारेको विवरण अनुसार जिल्लाको १८ हजार १ सय ९२ काठका पोल हटाउन सो रकम लाग्ने भएको हो । केन्द्रका प्रमुख न्यौपानेका अनुसार गोरखामा विद्युत भित्रने ११ केभी प्रशारण लाइनमै ५ सय ७२ र शाखा लाईनमा १७ हजार ६ सय २० काठे पोल छन् । अन्य स्थानिय तहको तुलनामा पालुङटार नगरपालिकामा काठेपोलको सख्यां धेरै छ । पालुङटार नगरपालिकाको पालुङटार, खोप्लाङ, मिरकोट, च्याङली, धुँवाकोट र आँपपिपल क्षेत्रका ४८ सय ८५ काठका पोल हटाउनुपर्नेछ ।

यसका लागी १२ करोड ३४ लाख ७५ हजार रुपैया लाग्ने केन्द्रको अनुमान छ । गोरखा नगरपालिकामा ३३ सय १५ काठेपोल विस्थापनका लागी ८ करोड ३५ लाख २५ हजार रुपैया लाग्नेछ । काठेपोल विस्थापनका लागी गतबर्ष नै १ करोड रुपैया विनियोजन गरि फलामे पोल
राख्न थालेको गण्डकी गाउँ पालिकामा २७ सय ५० काठेपोल हटाउनुपर्नेछ ।
गाउँपालिका अन्तरगतको मकैसिंह, ताङलिचोक, फुजेल, दर्बुङ, घ्याल्चोक र भुम्लीचोकका काठेपोल हटाउन ७ करोड २ लाख ५० हजार रुपैया लाग्ने गोरखा वितरण केन्द्रले जनाएको छ ।
शहिद लखन गाउँपालिकाको बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, बुंकोट र नाम्जुङका ३६ सय २५ पोल हटाउन ९ करोड १३ लाख ७५ हजार रुपैया लाग्नेछ । भिमसने थापा गाउँपालिकाको वगुवा, अश्राङ, बोर्लाङका १३ सय ७ काठेपोल हटाउन ३ करोड ३५ लाख ४५ हजार रुपैया लाग्ने प्राधिकरणको अनुमान छ ।
सिरानचोक गाउँपालिकाको २ हजार ३ सय १० काठेपोलको ठाउँमा फलामका पोल राख्न ५ करोड ८३ लाख ५० हजार रुपैया लाग्नेछ ।




