
६९ औं मनास्लु दिवस : जापान र इमानिसीले बेवास्ता गरेको मनास्लुका बासिन्दाको गुनासो
विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल जापानी नागरिक तोशिओ ईमानिशी र नेपाली नागरिक ग्याल्जेन नोर्वुले पहिलो पटक विक्रम संवत १९५६ मे ९ का दिनमा आरोहण गरे । ८,१६३ मिटर अग्लो मनास्लु पहिलो पटक आरोहण गरेको दिनको सम्झनामा हरेक बर्ष मे ९ मा विभिन्न कार्यक्रम गरी मनास्लु दिवस मनाउने गरिन्छ ।
दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी जस्ता ठूला सहर ध्वस्त भएपछि गिरेको मनोबल इमानिशीले मनास्लु र जुन्को ताइबेईले १९७५ मा सगरमाथा आरोहण गरेपछि उच्च भएको जापानीहरु मान्दछन् । सोही दिनको सम्झनामा हरेक बर्ष नेपालमा ‘मनास्लु डे’ भनेर मनाउने गरिन्छ । कहिले काठमाडौंमा, कहिले गोरखा सदरमुकाममा, कहिले गाउँपालिकामा र कहिले मनास्लु अवस्थित सामागाउँमा विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।
यसबर्ष मनास्लु संरक्षण क्षेत्र आयोजनाले मनास्लुको फेदी, सामागाउँमा विभिन्न कार्यक्रम गरी ६९ औं मनास्लु दिवस मनाउँदैछ । मनास्लुको पहिलो आरोहणभन्दा तीनबर्षअघि अर्थात वि.सं. १९५३ मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरिएको थियो । ८,८४८.८६ मिटर अग्लो सो हिमाल न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए ।
सोही स्मरणमा १९७४ मा हिलारी फाउण्डेशन स्थापना गरी सामाजिक काम गर्ने गरिएको छ । साथै सगरमाथा क्षेत्रमा सर एडमण्ड हिलारी मेमोरियल म्युजियम एण्ड इल्डरकेयर सेण्टर स्थापना भएको छ । तेञ्जिङ हिलारी पुरस्कार कोष स्थापना भएको छ । हिलारी फाउण्डेशनले शेर्पा समुदायमा गुणस्तरीय शिक्षा, महिला साक्षरता कार्यक्रम, शेर्पा विद्यार्थीहरुमा मेडिकल स्कलरसीप कार्यक्रम सञ्चालन गरेको छ ।
बर्षेनी विद्यार्थीको ट्युशन तिरिदिने, पोशाक तथा स्टेशनरी सामग्री वितरण गर्ने जस्ता कार्यक्रम पनि हिलारीको नाममा खुलेका संघसंस्थाले गर्ने गरेका छन् ।जसरी हिलारीको नाममा खुम्बु क्षेत्रमा चौतर्फी विकासको कार्यक्रमहरु हुन्छन्, त्यसैगरी जापानी नागरिक इमानिसीको नाममा पनि जापान सरकारले यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दिए राम्रो हुने स्थानीयबासीको माग छ । ‘हिलारी फाउण्डेशनले खुम्बुु क्षेत्रमा अस्पताल स्थापना गरिदिएको छ । क्लिनकहरु स्थापना गरेको छ ।
समय समयमा सगरमाथा सरसफाइ गरेको छ, वृक्षारोपाण कार्यक्रम गरेको छ’ वडाअध्यक्ष कर्मा छेवाङ लामा भन्छन्, ‘हाम्रो यहाँ पनि जलवायु परिवर्तनले साना साना तालहरु सुक्दैछन् । हिमपहिरो जाने समस्या बढिरहेको छ । वातावरण संरक्षणको कार्यक्रम गरे कति राम्रो हुन्थ्यो । हामीले जति ठूलो गरी उहाँलाई मान्छौँ, उहाँका सम्झनामा मनास्लु दिवस मनाउँछौं, उहाँको तर्फबाट हामीलाई हित हुने केही कार्यक्रम भएको छैन ।’ स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका कार्यक्रमहरु सञ्चालन गरे धेरै राम्रो हुने उनको भनाइ छ ।
स्थानीयबासीले इमानिसी र जापानप्रति जति महत्व दिन्छन्, जापानीहरुको तर्फबाट बेवास्ता भइरहेको स्थानीयबासीको गुनासो छ । ‘हामीले हरेकबर्ष इमानिसीले मनास्लु चढेको दिनलाई मनास्लु दिवस भनेर मनाइरहेका छौँ, इमानिसीलाई माल्यार्पण गरिरहेका हुन्छौँ तर जसरी हिलारीको नामबाट खुम्बु क्षेत्रमा विभिन्न ठूला, साना कार्यक्रमहरु भइरहेका हुन्छन्, इमानिसीको नामबाट हाम्रो क्षेत्रलाई केही पनि भएको छैन’, स्थानीय छिरिङ धार्के लामा भन्छन्, ‘जापानी सहयोग नियोग(जाइका)ले नेपालमा विभिन्न कार्यक्रम गरेपनि मनास्लु क्षेत्रलाई केही पनि सम्बोधन गर्दैन ।’
जापानीहरुले उपेक्षा गरिरहे इमानिसी र उनले आरोहण गरेको दिनलाई मरिहत्ते गरेर मनास्लु दिवस मनाउनुको अर्थ नरहने उनको भनाइ छ । जापानी सहयोग नियोगसम्म कुनै पहुँच नभएका कारण आफ्ना कुरा राख्न नपाएको अर्का स्थानीय ठिले लामा बताउँछन् । ‘जापानीले हाम्रो मनास्लु क्षेत्रलाई सम्झनु पर्छ भन्ने हाम्रो चाहना छ, तर अहिलेसम्म सम्झेको छैन’, उनी भन्छन्, ‘हामीलाई धेरै सहयोग माग्ने चाहना त छ, तर कसलाई भेट्ने, कहाँ भेट्ने पहुँच छैन ।’




