
शिक्षा, चेतनाको प्रभाव : शान्ति सुरक्षा सुदृढ
कुनै बेला थियो, बर्ष, दुईबर्षमा घर आएका लाहुरे, कलकत्तेहरु काटिन्थे, कुटिन्थे, लुटिन्थे । पेन्सन बुझेर फर्केका भूपू भारतीय, नेपाली सैनिकहरु पनि लुटिन्थे, मारिन्थे इत्यादि । मेलाजात्रा हुन्थ्यो, एउटा गाउँ र अर्को गाउँका बीच ‘आमकुस्ती’ चल्थ्यो । कैयौं सख्त घाइते, कतिपय मारिन्थे पनि ।
घरघरमा असंख्य हिँसा हुन्थ्यो । महिला(प्राय बुहारी), नोकरचाकरमाथि अमानवीय व्यवहार(यातना) हुन्थ्यो । शिक्षकले विद्यार्थीमाथि यातना दिन्थे । दाइजोका निहुँमा कैयौँ नववधुहरु पीडित हुन्थे, उनका माइतीहरु पीडित हुन्थे । जतिबेला देशमा, जनजनमा शिक्षा, चेतनाको पर्याप्त विकास थिएन, त्यतिबेलासम्म यस्तो अबस्था, यस्ता घटना भइरहन्थे ।
तर जब देशमा प्रजातन्त्र(लोकतान्त्रिक शासन व्यवस्था) आयो, आम जनमानसमा शिक्षाको पहुँच भयो । सामाजिक चेतना अभिवृद्धि भयो । राजनीतिक चेतना, धार्मिक चेतना, जीवन र जगतका बारेमा पढ्ने, देख्ने, सुन्ने, जान्ने अवसर पाए । अनि उनीहरुमा शिक्षा र चेतनाको ज्योतिले मनका कलुषलाई धोयो, पखाल्यो । अनि सभ्य नागरिक बन्ने अभिप्रेरणा दियो ।
सूचना प्रविधिको विकासले अहिलेका नागरिकले देश विदेश देख्न पाएका छन् । देश विदेशमा भइरहेका अभ्यास हेर्न, देख्न पाएका छन् । यसले उनीहरु पनि कसरी अन्तर्राष्ट्रिय समुदायजस्तै सभ्य, सुसंस्कृत बन्ने भन्ने चेतना विकास गरिरहेको छ । यसले गर्दा उनीहरुले बिगतमा झै असभ्य, बर्बर घटना घटाउन निरुत्साहित गरेको छ अथवा त्यस्ता घटना घटाउन छाडेका छन् ।
जबसम्म मान्छेमा शिक्षाको ज्योतिले भेटेको हुदैन, तबसम्म उनीहरु जंगली व्यवहार गर्ने खालका हिंस्रक बन्छन् । तर शिक्षाको उज्यालो ज्योतिले त्यस्ता दुर्भावना मेटाउँछ । अनि शान्तिप्रिय, सभ्य, सुसंस्कृत नागरिक बन्छन् । त्यसैले शिक्षा, चेतना, ज्ञानको ज्योति जतिसक्दो धेरै विकास गर्नुपर्दछ ।




