| मङ्लबार, कार्तिक २४, २०८३

द्रव्यशाह क्याम्पसद्धारा उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

गोरखा सदरमुकामको द्रव्यशाह बहुमुखी क्याम्पसले उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । क्याम्पसले विश्वविद्यालय अनुसन्धान आयोगको सहयोग तथा सहिदलखन गाउँपालिका वडा नं ७ को समन्वयमा कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रम सहिदलखन गाउँपालिका वडा नं ८ खाब्दीभन्ज्याङमा संचालन गरेको द्रव्यशाह बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण पराजुलीले बताए । उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रममा सहिदलखन गाउँपालिका वडा नं ७ र ८ बाट ७० जनाले सहभागिता जनाएको उनले जानकारी दिए ।

समुदाय स्तरमा उद्यमशीलता तथा वित्तिय साक्षरताको बारेमा सचेतना फैलाउने र नागरीकहरुलाई उद्यमशील बनाउने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको पराजुलीले बताएका छन् । उनका अनुसार कार्यक्रममा श्यामकाजी खत्रीले सहजिकरण गरेका थिए । ‘द्रव्यशाह बहुमुखी सामुदायिक क्याम्पस हो । त्यसैले समुदायको विकास गर्नु हाम्रो कर्तव्य हो’, सहायक क्याम्पस प्रमुख पराजुलीले भने । विश्वविद्यालय अनुदान आयोगको समुदाय लक्षित कार्यक्रम अन्तरगत उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीको अध्यक्षता एवं सहिदलखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका सहायक प्रमुख कृष्ण पराजुली, क्याम्पसका अन्य प्राध्यापकहरु, सहिदलखन गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष शरण श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष बासुदेव ढकाललगायत अन्य जनप्रतिनिधिहरु, स्थानीय लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्