
धार्चेको माछीखोलामा खानेपानी आयोजना उद्घाटन
विकट मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ माछीखोलाको ‘माछीखोला खानेपानी आयोजना’ उद्घाटन भएको छ । पालिकाले सोमबार संविधान सभा सदस्य तथा पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको उपस्थितिमा माछीखोला खानेपानी आयोजना उद्घाटन गरेको हो ।
खानेपानी आयोजना उद्घाटन भएपछि पालिकाको वडा नं ५ माछीखोलामा एक घर एक धारा कार्यक्रमले पूर्णता पाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उनका अनुसार संघ सरकारको दुई करोड २८ लाख ९३ हजारमा माछीखोला खानेपानी आयोजना निर्माण भएको हो ।
आयोजना निर्माणको जिम्मा दिपज्योती ए वान जेभीले पाएको थियो । ‘यसअघि माछीखोलाका स्थानीयहरुले अस्थायी रुपमा नजिकैको रेसे खोलाबाट पानी ल्याएर खाने गरेका थिए । बर्खाको समयमा खोलामा बाढी पसेर पिउने पानीको अभाव हुन्थ्यो’, प्रमुख प्रशासकीय अधिकृत सुनारले भने, ‘व्यवस्थित खानेपानी आयोजना निर्माण भएपछि पहिलाको जस्तो समस्या हुँदैन् ।’
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता एवं संविधान सभा सदस्य तथा पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थायिन लगायतको सहभागिता जनाएका थिए ।




