
छाक र गप जोड्ने झोलुङ्गे पुल निर्माण
चुमनुब्री गाउँपालिका ४ छाक र गप जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । तीनबर्षदेखि निर्माण गर्न सुरु गरिएको सो पुल केही दिनअघि निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले जानकारी दिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेट तथा कार्यक्रमअन्तर्गत गप्साखोला पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए ।
‘२४७ मिटर लामो गप्साखोला पुल केही दिनअघि निर्माण सम्पन्न भएको छ’, सुवेदीले भने, ‘मनास्लु कन्स्ट्रक्शन कम्पनीले पुल निर्माण गरेको हो ।’ सो पुल बनेपछि छाक र क्वाकका बासिन्दालाई गप बजार तथा मूलबाटोसम्म झर्न सजिलो भएको वडा अध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए ।
‘पुल बनेपछि छाकका ४०/४५ घरधुरीलाई गपसम्म झर्न सजिलो भएको छ’, उनले भने, ‘सेराङ जाने आउनेलाई पनि सजिलो हुन्छ । पहिले हिँड्ने बाटोमा ढुंगा खसेर जोखिम हुन्थ्यो । अहिले पुल बनेको ठाउँबाट हिँड्दा ढुक्क भएर हिँड्न सकिन्छ ।’
केही बर्षअघिसम्म छाकबाट गप झर्दा भीरबाट खसेको ढुंगाले लागेर मान्छे मर्ने, घाइते हुने घटना हुने गरेको थियो ।
‘माथि जंगलमा झारलहरु चर्ने रहेछ । जनावर हिँड्दा उनीहरुले लडाएको ढुंगा लागेर मान्छे कोही मर्थे, कोही घाइते हुन्थे’, छाकका लाक्पा लामाले भने, ‘अब सुरक्षित बाटोबाट हिँड्न मिल्नेगरी पुल बनेपछि त्यस्तो दिन सकियो ।’ मनास्लु, बिएलटी जेभी कम्पनीले तीन करोड २० लाख ९१ हजार रुपैयाँमा सो झोलुंगेपुल निर्माण गर्न २०७८ साल भदौ १२ गते सम्झौता गरेको थियो ।




