| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाको विशेष अधिवेशन : विभिन्न योजना संशोधन

गोरखा नगरपालिकाको विषेश अधिवेशन आईतबार सम्पन्न भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक सुरु हुँदा पनि अल्झिरहेका केही योजना तथा कार्यक्रमहरुलाई अधिवेशनले संशोधन तथा रकमान्तर गरेको छ ।

गोरखा नगरपालिकाको विषेश अधिवेशनले ७ करोड ८५ लाख ५० हजार रकम बराबरको ९८ वटा योजनाहरु संशोधन गरेको छ । नगरपालिकाले ९८ वटा योजनहरुको शीर्षक संशोधन र रकम परिवर्तन गरी जम्मा २२ वटा योजना तथा कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको हो । जसलाई नगर सभा सदस्यहरुले अनुमोदन गरेका छन् ।

अधिवेशनमार्फत नगरपालिकाले साना तथा ठुला गरी ४८ वटा योजनाहरु संशोधन गरेको छ । नगरपालिकाले २० लाख रकमको ‘स्याउली लिफ्टिङ खानेपानी योजना’लाई हेरफेर गरेको छ । स्याउली लिफ्टिङको सट्टामा नगरपालिकाले कुन्दुरटार पम्पिङ खानेपानी योजना संचालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले छेवेटार बजार र आसपासका क्षेत्रहरुमा फुटपाथ निर्माण कार्यक्रम अन्तरगतको रु २५ लाख र छेवेटार बजार फुटपाथ निर्माण कार्यक्रमको रु १० लाख गरी ३५ लाखमा छेवेटार खेलमैदान नजिक वर्वरे चौरमा कभर्ड हल निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम, टोलहरुलाई सहयोग कार्यक्रम र पोखरी तथा आहाल निर्माण कार्यक्रम अन्तरगतको रु ५०–५० हजार र हिलेखर्क पुरानो महिला भवन निर्माणका लागि भनेर बिनियोजन भएको रु २ लाखलाई रकमान्तर गरेर गोरखा नगरपालिका वडा नं ४ को कार्यालयमा रु ५ लाख बजेटमा पुतली बगैँचा सडक निर्माण गर्ने निर्णय भएको छ ।

खोल्खोले सडक नाला संरक्षण, सार्वजनिक जमिन संरक्षण र बाल उद्यान व्यवस्थापन नर्सरी क्षेत्रका लागि बिनियोजन गरिएको क्रमश रु ३ लाख र २–२ लाखलाई पनि संशोधन गरेर रु ७ लाख बजेटमा खोल्खोले जिम्मल गाउँ सडक स्तरउन्नति गर्ने निर्णय नगरपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्