| मङ्लबार, कार्तिक २४, २०८३

बारपाकको दलित बस्ती : बत्तीमुनिको अँध्यारो

प्रतिक्षा आले ।
खोल्साछेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका बस्तीका जीर्ण टहरोहरु अस्तब्यस्त छन् । होचो र साँगुरो टहरोभित्रको अबस्था पनि उस्तै, धुँवाले यत्रतत्र कालाम्य बनाएका भित्ता र छानो, त्यही धुवाँभित्र असरल्ल छरिएका सामानहरु । सानो टहरोलाई पनि जस्ताले बारेर दुई भाग लगाइएको छ । झ्याल छैन, जस्ताको पाताले बनेको एक खापा भएको जीर्ण ढोका छ । यसैबर्ष एसईई दिएकी १६ बर्षकी अमृता बिकले यही टहरोभित्र हजार सपना सजाइरहेकी छिन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं २ मा अबस्थित यो सानो झुप्रेघरभित्र उनीसहित सातजनाको बास छ ।

धुवाँले त्यहाँका बस्तुमात्र कालाम्य छैनन्, स–साना भाइबहिनीको भविष्य पनि अलमलमा परिरहेका छन् । ‘यहाँ त यस्तै छ, धुँवा जाने ठाउँ छैन् । बानी नहुने मान्छेहरु एकछिन पनि बस्न सक्दैनन्’, खाना बनाउँदै अमृता विकले भनिन्, ‘खाने, बस्ने, सुत्ने सबै यही हो । फेरि भाईबहिनीहरु पनि छन् । त्यसैले जति सफा गर्दा पनि हुँदैन्, एकैछिनमा उस्तै फोहोर भइहाल्छ ।’ २०७२ बैशाख १२ को विनाशकारी भूकम्प जाँदा उनी ६ बर्षकी थिइन् । भूकम्पले उनको बास माटोमा मिलाइदिएपछि बुबा आमाले झ्याउँकुटी पार्दै उनलाई यहाँ ल्याएका थिए ।

तर, उनलाई त्यो बेलाको भूकम्प राम्रोसँग याद छ । ‘भूकम्पअघि हामी डाँडागाउँ, गैरीगाउँमाबस्थ्यौँ, राम्रोसँग याद छ मलाई । ढुंगामाटोले बनेको हाम्रो दुईतले घर थियो । आँगन पनि ढुङ्गाले छापेको सफा थियो’, बिगत सम्झँदै अमृताले भनिन्, ‘एक्कासी भूकम्प आयो । हाम्रो घर माटोमै मिल्यो । घडेरी पनि राङरुङले तानेको पहिरोले जोखिममा पा¥यो । अनि बुबाआमा यता सर्नुभयो । त्यसयता १० वर्षदेखि यही त्रिपालमुनि बस्नु परेको छ ।’ सात जना परिवार एकै ठाउँ बस्नुपर्दा विभिन्न समस्याहरु झेल्नु परेको अमृताले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘सबैजना एकै ठाउँ बस्नु परेको छ । साह्रै सकस छ । हुर्केको दाजुभाई, बाउआमा सबै एकैठाउँमा सुत्न बस्न गाह्रो हुन्छ । कोही पाहुनापाछा आउँदा झनै गाह्रो ।’ अमृतालाई सबैभन्दा धेरै समस्या महिनावारीको बेला हुन्छ । उनको सानो टहरोमा प्याड, कपडा फेर्ने र शान्तसँग आराम गर्ने वातावरण छैन् । ‘महिनावारी हुँदा साँझमा, कि त एक बिहानै तल बारीतिर प्याड फेर्न जान्छु । दिनभरचाँहि यत्तिकै बस्ने हो । सबैजना यहीँ हुन्छन्, गाह्रो छ । दिउँसो एकछिन आराम गर्ने वातावरण पनि छैन्’, उनले भनिन् ।

अमृताको समस्या बारपाकको दलित बस्तीका हरेक किशोरीहरुको हो । केही समयअघि मात्र महिनावारी भएकी १२ वर्षीया आयुषा विक महिनावारीसँग त्रासित छिन् । हिमालय माविको कक्षा ५ मा अध्ययनरत्त उनलाई महिना–महिनामा भइरहने यस कुराले साह्रै पिरोल्छ । विक राम्रोसँग प्याडको प्रयोग गर्न पनि जान्दिनन् । उनलाई गाउँका अन्य दिदीहरुले प्याड प्रयोग गर्न सिकाएका हुन् । प्याड फेर्न साँझ पख बारीमा जानुपर्ने कुरा पनि गाउँकै दिदीहरुबाट थाहा पाएकी हुन् ।

‘धेरै रगत बग्छ, साँझ मात्र कोहीले देख्छ कि भन्दै लुकेर प्याड फेर्न जानु पर्छ’, उनले भने, ‘दिउँसो घरमा दाइ, भाइ, बाबा हुन्छन् । स्कुल जाँदाचाँहि उतै फेरेर आउँछु ।’ दलित बस्तीमा एउटा पनि व्यवस्थित शौचालय छैन । पानीको पनि अभाव छ । अमृता र आयुषाले भोगेको यो यातना त्यस बस्तीका किशोरीहरुको साझा समस्या हो । उनीहरुले महिनावारीको समयमा शौचालय प्रयोग गर्दा र नुहाउँदा निकै समस्या झेल्नु परेको छ ।

‘शौचालय पनि एक लात्त हान्दा भत्किने जस्तो छ । यो ठाउँ त्यस्तै फोहोर छ । महिनावारीको समयमा शौचालय प्रयोग गर्न धेरै समस्या हुन्छ’, १२ वर्षीया आयुषाले भनिन् । १८ महिने सुत्केरी दिपासा विकले पनि भूकम्पले आफूहरुको बिच्चल्ली बनाएको बताउँछिन् । ३० वर्षीया दिपासाले आफ्नो जीवन यही दलितबस्तीमै बिताएकी छिन् । ‘यहीँ जन्मँे, बिहे पनि एउटै गाउँमा गरेँ । भूकम्पले गर्दा आफ्नो व्यवस्थित घर छोडेर यस्तो झुपडीमा आउनु प¥यो । २ वटा नानी बाबु यही झुपडीमा जन्मिए । कति समस्या झेल्नु प¥यो भन्ने कुरा बयान गरेर साध्य छैन्’, उनले भनिन् ।

गर्मीमा असाध्यै गर्मी अनि जाडोमा असाध्यै जाडो । दलित बस्तीमा बालबालिका, जेष्ठ नागरिक, किशोरी र दिपासा जस्ता सुत्केरीहरुको अथाहा पीडा छ । सरकारी स्वामित्वमा रहेको उक्त दलित बस्तीमा २१ घरधुरीका ५० भन्दा धेरै मानिसहरु बसोबास गर्छन् । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चहुरमा, बारीका गरामा बास बसे ।
डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।

डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् । राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ ।

यहाँका दलित समुदायका अगुवा सुकबहादुर बिक दलित समुदायलाई बास माग्दै ८६ पटक सिँहदरबार धाएका छन् । ‘मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो’, उनी भन्छन्, ‘१० बर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर, यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइ १० बर्षसम्म भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन्’, उनी भन्छन्, ‘एकदुई जनाको रिसले २१ घरधुरी दलित समुदायलाई दुख दिने काम भइरहेको छ ।’

पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम विक भन्छन् । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्