
गोरखा नगरपालिका–६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा
गोरखा नगरपालिका वडा नम्वर ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप वडा घोषणा गरिएको हो ।
‘हामीले घरधुरी सर्वेक्षण गर्दा वडामा १६ देखि २३ महिनासम्मका ११९ जना बालबालिका रहेछन्,’ गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने, ‘सर्वेक्षण गर्दा एकजना बाहेक सबैले पाउनुपर्ने खोप सबै लगाएको पाएका थियौँ । छुटेको एकजना बालक बाहिरबाट बस्न आएको रहेछ ।
उनलाई पनि लगाउनुपर्ने खोप दिएपछि वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।’ शनिबार पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रम मार्फत वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।
वडाध्यक्ष राजेन्द्र कुमार जोशीको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी, स्वास्थ्य कार्यालयका प्रतिनिधि, पालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, स्थानिय, जनप्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।




