
प्रेस स्वतन्त्रता मात्र होइन, जवाफदेही प्रेसको खाँचो
शिव उप्रेती । शनिबार विश्वभर एकसाथ प्रेस स्वतन्त्रतता दिवस मनाइएको छ । पत्रकारितामा संवद्ध व्यक्तिहरुका लागि यो दिन जीवनका महत्तम दिनहरुमध्य पर्दछ । प्रेस स्वतन्त्रतालाई विभिन्न विद्वान, विदुषी, सञ्चारविज्ञहरुले आ–आफ्नै वुद्धि, विवेकले परिभाषित गरेका छन् ।
तथापि कसैको(आफ्नै पनि) डरत्रास, दबाब, प्रभावमा नपरी सत्य, तथ्य, निश्पक्ष तरबले समाचार संकलन, सम्पादन र संप्रेषण गर्ने अवस्था र व्यवस्थालाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ । प्रेस स्वतन्त्रतालाई दिवसका रुपमा मनाउन भने सन् १९९३ बाट सुरु गरियो । सन् १९९१ मा यूएसएसआर र यूएसए बीच चलिरहेको शितयुद्ध समाप्त भयो ।
त्यो अवधिमा विश्वभर डर, धाक, धम्की, अभाव, दबाब, प्रभावमा परेर समाचार लेख्ने, प्रोपोगण्डाका लागि समाचार संप्रेषण गर्ने युग थियो । त्यतिबेला अर्थात सन् १९९१ नामिवियाको विण्डहोकमा अफ्रिकाका पत्रकारहरुको भेला सम्पन्न भएको थियो । भेलाले प्रेस स्वतन्त्रताको व्यवस्था हुनुपर्ने ‘विण्डहोक घोषणापत्र’ पारित गरेको थियो ।
त्यसको दुईबर्षपछि अर्थात सन् १९९३ मे ३ मा सोही स्थानमा संयुक्त राष्ट्रको शिक्षा, विज्ञान तथा संस्कृति सम्बन्धी काम गर्ने अर्गनाइजेशन(युनेस्को)को महासभा सम्पन्न भयो । सो महासभाको २६ औं सत्रमा अफ्रिकन पत्रकारहरुले प्रस्ताब गरेको विण्डहोक घोषणापत्रमा उल्लिखित प्रेस स्वतन्त्रता दिवसलाई विश्वव्यापी मनाउनु पर्ने भन्ने प्रस्ताबलाई अनुमोदन गरेको थियो । सोही महत्वपूर्ण दिनलाई विश्वभरि प्रेस स्वतन्त्रता दिवस भनेर मनाउन सुरु गरिएको हो ।
फ्रान्सस्थित रिपोर्टर्स विद आउट बोर्डरले प्रेस स्वतन्त्रता सूचकांकको रिपोर्ट हरसाल सार्वजनिक गर्ने गर्छ । विश्वका दुईसयमध्य १८० वटा मुलुकमा अध्ययन गरी तय गरिएको प्रेस स्वतन्त्रता इन्डेक्स २०२५ को सूची पनि प्रकाशित गरिसकेको छ । जसमा नेपाल ९० औं स्थानमा छ । अर्थात १८० मध्य नेपाल सबैभन्दा बीचमा रहेको छ । कूल १०० अंकमा ५५.५ अंक प्राप्त गरेको छ । यसलाई रिपोर्टर विदआउट बोर्डरले ‘प्रोब्लमेटिक’(समस्याग्रस्त)को संज्ञा दिएको छ ।
दक्षिण एशियाका आठ राष्ट्रमध्य ९० औं स्थान सबैभन्दा राम्रो स्थान हो । किनभने अरु राष्ट्रहरु अझै पछाडि छन्, जस्तो माल्दिभ्स १०४ औं स्थानमा छ । श्रीलंका १३९ औं, बंगलादेश १४९ औं स्थानमा रहेका छन् । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारत १५१ औं स्थानमा, भुटान १५२ स्थानमा रहेको छ । प्राय द्वन्द्व भइरहने पाकिस्तान प्रेस स्वतन्त्रताको सूचीमा १५८ औं स्थानमा र अफगानस्तान १७५ औं स्थानमा छ ।
उत्तर छिमेकी राष्ट्र चीन १८० वटा राष्ट्रमध्य १७८ औं स्थानमा रहेको छ भने आफूलाई प्रजातन्त्रको हिमायती भन्ने अमेरिका पनि ५७ औं स्थानमा रहेको छ । प्रेस स्वतन्त्रताको सूचकहरुको परिपालना मूल्यांकनमा नर्वे सर्वोत्कृष्ट देखिएको छ । सूचीमा नर्वे पहिलो नंबरमा छ । एस्टोनिया दोस्रोमा, नेदरल्याण्ड तेस्रोमा, स्वीडेन चौथोमा र फिनल्याण्ड पाँचौमा रहेका छन् । त्यस्तै छैठौंमा डेनमार्क, सातौंमा आयरल्याण्ड, आठौँमा पोर्चुगल, नवौंमा स्वीजल्याण्ड र दशौंमा चेक रिपब्लिक रहेको छ । १८० राष्ट्रमध्य सबैभन्दा पछाडि अर्थात १८० औं स्थानमा एरिट्रया रहेको छ ।
प्रेस जगत लोकतन्त्र अभिन्न अंग हुन् । यी दुई बीच नङ मासुको सम्बन्ध भएकाले, प्रेस लोकतन्त्रको आधार भएकाले प्रेस जगतलाई राज्यको चौथो अंग भनेर पहिलो पटक संज्ञा दिने बेलायती सांसद एडमण्ड ब्रुक हुन् । उनले सन् १७८७ मा संसदमा बोल्दै प्रेसलाई चौथो अंग घोषणा गरेदेखि यो पदावली चल्दै आएको हो । त्यसैले प्रेस स्वतन्त्रतालाई सम्मान गरिदै आएको छ ।
यद्यपि प्रेस स्वतन्त्रताको मात्र वकालत गर्ने जवाफदेही प्रेसको कुरा नगर्ने हो भने यो एकांकी हुन्छ ।
लोकतन्त्रको आधार प्रेस गैरजिम्मेवार भयो भने लोकतन्त्र पक्कै कमजोर हुनेछ । लोकतन्त्रलाई परिभाषित गर्ने अव्राहम लिंकनको मुलुक अमेरिकामै प्रेस स्वतन्त्रताको नाममा यसको दुरुपयोग हुने गरेको छ । पहिलो विश्वयुद्धताका अमेरिका तथा जहाँतहीँ प्रोपोगण्डाले समाज आजित भइसकेको थियो । भ्वाइस अफ अमेरिका एक त्यस्तो रेडियो हो, जुन अमेरिकाबाहेक विश्वभर सुनिन्छ । त्यसले अमेरिकाको पक्षमा प्रोपोगण्डा फिँजाउँछ ।
त्यसकै देखासिकी गरी चाइनाले पनि अर्को प्रोपोगण्डा मच्चाउने रेडियो प्रशारण गरिरहेको छ, सिआरआई(चाइना रेडियो इण्टरनेशनल) । यिन र यस्ता प्रोपोगण्डा मच्चाउने सञ्चारमाध्यमले विश्व दिग्भ्रमित भयो भन्ने ठानी दोस्रो विश्वयुद्धताका विश्वकै प्रथम म्यागाजिन टाइम र लाइफ म्यागाजिनले प्रेस अमेरिकाको सिकागो विश्वविद्यालयका अध्यक्ष रोवर्ट हचिन्सको अध्यक्षतामा प्रेस स्वतन्त्रतासम्बन्धी जाँचबुझ गर्ने आयोग गठन गरे । यसैलाई हचिन्स कमिशन भनिन्छ । यसले प्रतिपादन गरेका चारमध्य एक सिद्धान्त हो, सामाजिक उत्तरदायित्व सिद्धान्त । यसले प्रेस स्वतन्त्रताको मात्र नभै प्रेस रेस्फोन्सिबिलिटीको बहश अघि सा¥यो ।
प्रेस स्वतन्त्रताको बहश आजको होइन, सन् १७६६ अक्टोवर २ मा स्वीडेनले प्रेस स्वतन्त्रता ऐन पारित ग¥यो । यो नै प्रेस स्वतन्त्रतालाई कानूनी मान्यता दिएको पहिलो घटना थियो । नेपालको संविधान २०७२ को धारा १९ मा पनि प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गरेको छ । यसको थालनी वि.सं. २००४ मा पद्म सम्शेरले जारी गरेको संविधान पनि ग्यारेण्टी गरिएको थियो । त्यसयता जति पनि संविधान आएका छन्, सबैमा प्रेस स्वतन्त्रता उल्लेख नभएका होइनन्, फरक कार्यान्वयनमा हो । वर्तमान परिप्रेक्षमा पत्रकारहरुका लागि प्रेस स्वतन्त्रताको खाँचो छ । त्यत्तिकै खाँचो सामाजिक जवाफदेही पत्रकारिताको पनि छ ।




