| आइतवार, कार्तिक २२, २०८३

गोरखालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य

अहिले गोरखामा अण्डाको माग दैनिक ५० पेटी छ । ३० पेटी अण्डा गोरखा नगरपालिका ८ का कृष्ण केशी एक्लैले आपूर्ति गरिरहेका छन् । बाँकी आवश्यकता अरु कुखुरा फर्म वा छिमेकी जिल्लाबाट आयात हुन्छ ।

बाँकी आवश्यकताका पनि आफू एक्लैले परिपूर्ति गर्ने योजनाका साथ काम गरिरहेको केशी बताउँछन् । ‘अहिले एउटा फर्मबाट दैनिक १८ देखि २० पेटी अण्डा बजारमा जान्छ । अर्को फर्कबाट १० देखि १२ पेटी जान्छ’, केशी भन्छन्, ‘बजारको माग धान्न अझै फर्म थप्नु पर्ने आवश्यकता छ । त्यो मैले सोचिसकेको छु । फर्म थप गरिरहेको छु ।’ एउटा फर्ममा उनको पाँच हजार र अर्को फर्ममा छ हजार हुर्कौला लेयर्स कुखुरा छन् ।

‘ऊ त्यहाँ हेर्नुस्, तपाई देख्न सक्नुहुन्छ अर्को फर्म थप्दैछु’, उनी भन्छन्, ‘त्यहाँ छ हजार कुखुरा राखेपछि २० पेटीको आवश्यकता परिपूर्ति हुन्छ भन्ने विश्वास छ ।’ पेशा अत्यन्त संवेदशील र जोखिम भए पनि अहिलेसम्म बिचलित नभएको उनको भनाइ छ ।
यसअघि गोरखा बजार आसपास अण्डा उत्पादन गर्ने अरु कुखुरा फर्म पनि थिए ।

कोभिड महामारीका बेला लकडाउन र अरु जटिलताका कारण व्यवसायीले व्यवसाय छाडेका उनले बताए । ‘जतिसुकै घाटा सहनु परे पनि म बिचलित नभै व्यवसाय गरिरहेँ । अहिले बजार क्षेत्रमा अण्डा उत्पादन गर्ने म एउटै हुँ । अरु एकजनाको फर्म तेह्रकिलोमा छ । अर्का व्यवसायीको फर्म फुजेलतिर छ । हामी यति नै हौँ’, उनले भने, ‘गोरखाका अरु सबै कुखुरा फर्म मासु उत्पादन गर्नेहरु हुन् ।’

तीन दशकभन्दा धेरै समय शिक्षण पेशामा रहेर काम गरेका केशी निवृत्त भएलगत्तै २०७४ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष बने । शिक्षा र समाजसेवाबाट समय निकालेर अहिले उनले अण्डा उत्पादन कर्म गर्न थालेका हुन् । ‘कुखुरा पालन गर्न थालेको त झण्डै १२ बर्ष भइसक्यो’, उनी भन्छन्, ‘तर ठूलो स्केलमा गरेको भर्खर भर्खर हो ।’ आलेगाउँमा उनको अकला कृषि तथा पोल्ट्री फर्म छ ।

यसबीचमा धेरै कृषि फर्महरु अनुदान लिएर बन्द भए, बदनाम कमाए । तर आफू अनुदानको दौडधुपमा नलागेको केशीको भनाइ छ । ‘अनुदान भनेको के हो, कस्तो हुन्छ त्यसको चक्करमा लागिएन’, उनी भन्छन् । आफ्नो कुखुरा फर्ममा पुगेपछि बाहिरि संसार सबै भुलेजस्तो लाग्ने उनको अनुभव छ ।

‘पछि आएर पो थाहा भयो, मेरो रुचि त कुखुरा पालन पो रहेछ’, उनी भन्छन्, ‘सबै काम कुरो भुलेर म कुखुरासंगै रमाउँछु । सकेसम्म बाहिर निस्कन नपरे हुन्थ्यो जस्तो लाग्छ ।’ यहाँ उनले स्वरोजगार मात्र गरेका छैनन् । धेरैजनालाई रोजगारी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्