| मङ्लबार, कार्तिक २४, २०८३

बसपार्क क्षेत्रमा अचाक्ली धुलो : जनजीवन प्रभावित, धुलो मार्ने विधि अपनाउन माग

मेलिना बराम ।
बसपार्कदेखि शक्तिचोकसम्मको फुटपाथ व्यवस्थित गर्ने क्रममा निस्किएको धुलोले स्थानीयको जनजीवन प्रभावित बनेको छ । दिनभर झ्याल ढोका बन्द गरेर बस्नुपर्ने बाध्यता वरपरका स्थानीयलाई छ भने आउजाउ गर्नेहरुले पनि धुलोका कारण सास्ती खोप्नु परेको छ । व्यवसायमा समेत असर परेको व्यवसायीको गुनासो छ । ४० प्रतिशत व्यापार घटेको राष्ट्रिय वाणिज्य बैंक नजिकै कस्मेटिक पसल संचालन गर्दै आएका काजी मियाले बताए ।

‘यसै त व्यापारमा मन्दी थियो,’ बसपार्क टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका उनले भने, ‘अहिले धुलोले झन् व्यापार घट्यो ।’ गोरखा नगरपालिकाको दमकल प्रयोग गरेर दिनको कम्तिमा दुई पटक सडकमा पानी हालिदिए धुलो कम हुने भन्दै उनले आग्रह गरे ।

बसपार्कमा फेन्सी पसल संचालन गर्दै आएकी आयुष्मा श्रेष्ठको पनि गुनासो उस्तै छ । बाहिर राखिएका कपडाहरु धुलोले सबै बिग्रन थालेको उनले सुनाइन् । ‘पसलभित्रै धुलो छिरेर लुगाहरु सबै ड्यामेज गरेको छ,’ उनले भनिन्, ‘कष्टुमरले मन पराएको लुगा पनि धुलोका कारण आधा मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।’

धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुगेको बद्रि मेडिकलका सञ्चालक सचिन श्रेष्ठ बताउँछन् । ‘गर्मीयाममा यति धेरै धुलो भएपछि स्वास्थ्यमा असर त पक्कै नै पर्छ । बिकाससँगै जनताको स्वास्थ्यलाई पनि ध्यानमा राख्न जरुरी छ,’ उनले भने ।

सो क्षेत्रमा सवारीको स्पिड कम गराउन सके धुलो केही मात्रामा कम हुने कपडा व्यवसायी अञ्जितकुमार श्रेष्ठले बताए । फुटपाथ निर्माणका लागि खनिएका खाँडल वरपर बार लगाउन उनले सुझाव दिए । ‘ह्यूम पाइप राख्नका लागि खाल्डो खनेर त्यतिकै छाडिएको छ,’ उनले भने, ‘रातिमा यात्रा गर्नेहरु त्यहाँ खसेर दुर्घटना हुन सक्ने जोखिम छ ।’ जोखिम नियन्त्रणका लागि वरपर बार लगाउन उनले सुझाव दिए ।

फुटपाथ निर्माणको क्रममा अहिले सो क्षेत्रमा सवारी जाम समेत हुने गरेको छ । जाम व्यवस्थापनका लागि सहजिकरण गर्न स्थानीयले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई आग्रह समेत गरेका छन् । गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको संयुक्त लगानीमा बसपार्कदेखि शक्तिचोकसम्मको सडक चौडासँगै फुटपाथ व्यवस्थित गर्ने काम अघि बढेको हो ।

उक्त योजनाका लागि गोरखा सडक योजनाको एक करोड ७१ लाख र गोरखा नगरपालिकाको २ करोड बजेट विनियोजन भएको छ । कामको जिम्मा लिएको निर्माण कम्पनीमध्येका एक बिन्ध्यावासिनी विल्डर्सका प्रालिका जीवन खड्काले धुलो नियन्त्रणका लागि गोरखा नगरपालिकालाई आग्रह गरिएको बताए । ‘एक दिन त दमकल ल्याएर हालेको थियो, त्यसपछि फेरि हरायो,’ उनले भने, ‘हामीलाई पनि ठेक्कामा पानी हाल भनेर भनेको छैन ।’ रातिमा समेत काम भइरहेको बताउँदै उनले जतिसक्दो छिटो योजना सम्पन्न गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्