
गोरखा दरवारको दान पेटिका खोलियो, चार महिनामा २ लाख ६८ हजार संकलन
गोरखा दरवारमा रहेको दान पेटिका खोलिएको छ । पेटिका भरिएपछि सोमवार प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरवार हेरचाह अड्डाका प्रतिनिधिहरुको रोहबरमा सोमवार पेटिका खोलिएको छ ।
दान पेटिकामा चार महिनाको अवधिमा दुईलाख भन्दा धेरै संकलन भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘दरवार परिसरमा राखिएको दुई वटै दान पेटिका आज खोल्यौँ,’ गोरखकाली मन्दिरका पुजारी शारदा भट्टराईले भने, ‘दानपेटिकामा २ लाख ६८ हजार रकम संकलन भएको रहेछ ।’ उक्त रकम एनएमवी बैकमा रहेको खातामा राखिने उनले बताए ।
उनका अनुसार तीन जना कर्मचारीको नाममा संयुक्त खाता खोलिएको छ । दान पेटिकाको रकमबाट आवश्यकता अनुसार दरवार परिसरको सरसफाई, खानेपानीका धारा मर्मत लगायतका काममा खर्च हुने गरेको भट्टराईले जानकारी दिए । यसअघि गत पुस महिनामा पेटिका खोलिएको थियो । उक्त समयमा १ लाख ८२ हजार संकलन भएको थियो ।




