| आइतवार, कार्तिक २२, २०८३

पीपलबोट कृषि सहकारीबाट दुइ लाख बढी रकम चोरी

बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पीपलबोट कृषि सहकारी संस्थामा चोरी भएको छ । शनिवार राती संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।

‘भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएको देखियो,’ उनले भने, ‘सेफको लकर फुटाएर भित्र राखेको पैसा लगेछ ।’ घटनाबारे प्रहरीलाई जानकारी गराएको उनले सुनाए । उनका अनुसार सेफ बाहिर पनि केही रकम थियो । ‘हिसाव गर्न बाँकी केही रकम सेफमा नराखी बाहिरै दराजतिर राखेका थियौ, त्यो चाहि पत्ता लगाउन भ्याएनछ,’ उनले भने ।

जानकारी पाए लगतै प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर स्थलगत निरिक्षण गरेको छ । ‘संहकारीको आफ्नै भवन रहेछ, गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा रहेकाले चोरी हुदाँ थाहा नपाएको हुन सक्छ,’ उनले भने । ढोकाको चावी र सेफको लकर फुटाएको अवस्थामा भेटिएको जानकारी दिदै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

सिसिटिभी जडान नभएकाले चोरी गर्नेको पहिचान गर्न समस्या भएको उनको भनाइ छ । उक्त सहकारी २०७२ साल बैशाख महिनामा खुलेको हो । संस्थामा हाल करिव दुई सय जना सेयर सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्