
गुप्सी र मिलनबस्ती एकीकृत नमूना बस्तीहरु असफल
भूकम्पले बस्ती क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा एकीकृत नमूना बस्ती बनाउने घोषणा भए । धार्चे गाउँपालिका ४ लाप्राक र भीमसेनथापा गाउँपालिका ५ बगुवामा एकीकृत बस्तीको प्रक्रिया अघि बढ्यो ।
लाप्राकबासीका लागि गैरआवासीय नेपालीहरुको संगठन(एनआरएनए)ले २७०० मिटर उचाइको गुप्सीपाखामा एकीकृत बस्ती बनाइदियो । एनआरएनएले ५८६ वटा र व्यक्ति स्वयंले गरी सो ठाउँमा ६२९ वटा घर बने । बस्ती तयार भएपछि सम्बन्धित धनीलाई घरको चापी बुझाइयो ।
एउटै ठाउँमा एउटै मोडलका ६२९ घरले ढाकिएको गुप्सीपाखा हेर्दा आकर्षक देखिन्छ । टोलटोलमा सडक पुग्ने गरी प्लानिङ गरिएको बस्तीमा हिउँदमा हिउँपर्दा भ्रमण गर्न आन्तरिक पर्यटक आउँछन् । गोरखाबाट ६५ किलोमिटर टाढा रहेको यहाँसम्म पुग्न कच्ची नै भएपनि मोटरबाटो बनेको छ ।
बस्ती जति सुन्दर भए पनि २०, २५ वटा घरमा मात्र मान्छे बस्छन् । अरु सबै घरमा ताला ठोकिएको छ । सयौं घरधुरीले भरिभराउ गुप्सीबस्तीमा सँधै सन्नाटा छाउँछ ।
काम गर्ने बारी पुरानो गाउँघर वरिपरि रहेकाले उनीहरु बस्न खान मात्र एकघण्टाको उकालो चढेर गुप्सी जान आनाकानी गरेका हुन् । साथै २७०० मिटर उचाइको चिसोमा बालबालिका, वृद्धवृद्धालाई प्रतिकूल हुने भएकाले गाउँले एकीकृत बस्तीमा नसरेका वडाअध्यक्ष किसान गुरुङ बताउँछन् ।
एनआरएनएको पसिनाले बनेको गुप्सीबस्ती प्रयोगविहिन भए पनि हेर्नका लागि भने मनमोहक देखिन्छ ।
भीमसेनथापा गाउँपालिका ५ बगुवा लामाचौरको एकीकृत मिलनबस्तीको अबस्था पनि उस्तै छ ।

प्रत्येक घरबाट २५ हजार रुपैयाँ तिरेर छ आना जग्गा लिए । सो क्षेत्रमा बनेका आंशिकबाहेक धेरै घर अलपत्र छन् । भूकम्पले क्षतिग्रस्त रिठ्ठेपानी, भरमपानीका १३८ घरधुरीका बासिन्दालाई पुनस्थापित गराउन समुदायको पहलमा निर्माण गरिएको सो बस्तीमा एकतिहाइ घर बन्दाबन्दै काम छाडेर अलपत्र पारिएका छन् भने बनिसकेका आधाजसो घरमा पनि बसोबास गरिएको छैन ।
‘हामीचाहिँ यहाँ आएर बसेको चारबर्षजति भयो । कसैले बनाउँदा बनाउँदै छाडे, कसैलेचाहिँ बनाएर राखे पनि बस्न आएका छैनन्’, स्थानीय राममाया श्रेष्ठ भन्छिन्, ‘बनाउनै १३, १४ लाख खर्च भयो । आफूले गर्नुपर्ने खर्च गर्न नसकेर कतिपयले बनाउन छोडेका होलान् । अनि यहाँ पनि घर हुने, काठमाडौँ, चितवनतिर पनि घर हुनेहरुचाहिँ घर बनाएर छोडे, बस्न आएनन् ।’
एकीकृत मिलनबस्ती निर्माणमा अग्रणी भूमिका खेलेका रामहरि श्रेष्ठका अनुसार मिलनबस्तीमा अहिले ९५ घर बनिसकेका छन् । ६५ घरधुरी बसोबास गर्न सुरु गरेका छन् । ‘कोही चितवन बस्न जाने, कोही काठमाडौँ जाने गर्दा कतिपयको घर भने निर्माण सम्पन्न भएको छैन’, उनले भने । लक्षित समुदायका ३० घर भने अक्स्फाम नामक एक गैरसरकारी संस्थाले निर्माण गरेको थियो ।




