
भच्चेक बजारमा तीन महिने सिलाई कटाई तालिम संचालन
अजिरकोट गाउँपालिका–३ भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन भइरहेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप विकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम संचालन भएको हो ।
तालिममा अजिरकोट गाउँपालिका भित्रका २० जना महिलाहरुले सहभागिता जनाएको भच्चेक बजारकी स्थानिय समाजसेवी सरिता श्रेष्ठले बताइन् । तालिममा कक्षा आठ उतीर्ण गरेका र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका दलित, अपाङ्ग, सहिद परिवार, द्वन्द्व पीडित, वैदेशिक रोजगारीबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकता दिइएको उनले जानकारी दिइन् ।
महिलाहरुलाई जीविकोपार्जनमा सघाउन र उनीहरुलार्ई उद्यमी बनाउन तालिम संचालन गरिएको श्रेष्ठले बताएकी छिन् । उनी भन्छिन्, ‘यहाँको महिलाहरु उद्यमशिलतको हिसावले अलि पछाडि नै छन् । त्यसैले पनि हामी सबैको पहलमा गण्डकी प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।’ तीनमहिने सिलाई कटाई तालिमपछि महिलाहरुमा उद्यमशिलताको क्षमता विकास हुने उनको विश्वास छ ।
तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले नै उपलब्ध गराएको छ । तालिम लिइसकेपछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्य रहेको स्थानीय श्रेष्ठको भनाइ छ ।




