
उत्तरी गोरखामा बोलिने गुरुङ भाषाको वर्णनिर्धारण गरिँदै
प्रतिक्षा आले ।
उत्तरी गोरखामा बोलिने गुरुङ भाषाको वर्ण निर्धारणको काम सुरु भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका र हिमाली आदिवासी समाजको संयुक्त साझेदारीमा चुमनुब्रीमा बोलिने गुरुङ भाषाको वर्ण निर्धारण गर्न लागिएको हो ।
हिमाली आदिवासी समाजले चुमनुब्रीको गुरुङ भाषालाई वर्णनिर्धारण गर्न ‘स्थानीय मातृभाषा वर्णनिर्धारण कार्यशाला’ संचालन गरेको छ । समाजले चुमनुब्री गाउँपालिका वडा नं ३ फिलिमकोे वडा कार्यालयमा उक्त कार्यशाला संचालन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । वर्णनिर्धारण कार्यशाला आइतबारबाटै सुरु भएकोमा आगामी बैशाख १२ गतेसम्म संचालन हुने उनले जानकारी दिए ।
‘अहिले वर्ण निर्धारणको काम भइरहेको छ । वर्णनिर्धारण गरिसकेपछि शब्दकोष निकाल्ने काम हुन्छ । यसको सबै जिम्मेवारी हिमाली आदिवासी समाजले लिएको छ । पालिकाले भने समन्वयको पाटो मात्र हेरेको छ’, प्रमुख प्रशासकिय अधिकृत लामिछानेले भने । फिलिम लगायत चुमनुब्री गाउँपालिकाभित्रको गुरुङ समुदायले बोल्ने भाषा अरु ठाउँको भन्दा फरक रहेकाले यसको वर्णनिर्धारण गर्न जरुरी रहेको उनले बताएका छन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पालिकामा बोलिने स्थानीय मातृभाषाहरु बिस्तारै हराउँदै गएकाले वर्णनिर्धारण गर्न लागिएको जानकारी दिए । कार्यशालाले लोप हुँदै गएका भाषा संरक्षणमा ठूलो भूमिका खेल्ने बताएका छन् । ‘एउटै भाषा पनि ठाउँ अनुसार फरक हुन्छ । यहाँको गुरुङ भाषा अन्य ठाउँको भन्दा अलि फरक छ ।
यसको वर्णनिर्धारण गरी भाषा संरक्षण गर्ने योजना पालिकाको छ’, उनले भने । चुमनुब्रीमा बोलिने गुरुङ भाषाको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यमा पालिका पनि लागि परेको अध्यक्ष लामाले बतएका छन् । उनी भन्छन्, ‘यहाँको स्थानीय गुरुङ भाषा अहिलेसम्म पनि सुचिकृत हुन सकेको छैन् ।
वर्णनिर्धारण कार्यक्रमले भाषा सूचीकृत गर्ने प्रक्रिया सहज बनाउँछ भन्ने आशा छ ।’ स्थानीय गुरुङ भाषाको वर्णनिर्धारण कार्यशालामा चुमनुब्री गाउँपालिकाको फिलिम,सानो फिलिम, सिर्दिबास, पाङसिङ, न्याक, आँगा, सस्र्यु, पातिगाउँ, देवल गाउँ, सल्लेरी, जगत, भालुवाङ, लगायत गुरुङ भाषा बोलिने गाउँहरुबाट २–२ जना प्रतिनिधिहरु आएको उनले बताए ।




