
महिलालाई आत्मनिर्भर गराउन ड्राइभिङ सिकाउँदै पालुङटार नगरपालिका
मेलिना बराम ।
पालुङटार नगरपालिकाले महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बनाउन अटो चलाउन सिकाउन थालेको छ । महिलाहरुलाई रोजगार सुनिश्चित गराउने उद्देश्यले अटो चलाउने तालिम दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिंह थापामगरले बताए । नारी दिवसको दिनबाट तालिमको सुरुवात गरिएको उनले बताए । ‘महिला लक्षित भएकाले हामीले यो कार्यक्रम नारी दिवसको दिन बाटै शुभारम्भ गरेका हौं,’ उनले भने ।
नगरपालिकाको महिला लक्षित सिप बिकास कार्यक्रम अन्तरगत तालिम दिएको हो । तालिममा नगरपालिका भित्रका वडा नं. ६ र ७ का २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम ३० कार्यदिने भएको उनले बताए । ‘हामीले प्रत्येकलाई ३० दिन सिक्न पाउने भनेका छौं,’ उनले भने, ‘उहाँहरुको समयनूकुल ४० दिन लगाए नि पाए, ५० दिन लगाए नि पाए तर, सिक्न चाहिँ ३० दिन नै सिक्नु पर्ने हुन्छ ।’ वडाभित्रका बेरोजगार, विपन्न वर्ग समान्य लेखपढ र इच्छुक महिलाहरुले तालिम लिएका छन् । नगर महिला सञ्जालले तालिममा सहभागी हुने महिलाहरुको छनोट गरेको हो ।
तालिम लिएर मात्रै महिलाहरु स्वरोजगार बनदैनन् । दक्षताको प्रमाण पत्र पनि आवश्यक पर्छ । उनीहरुलाई ३० दिनसम्म तालिम दिएर दक्ष अटो चालक बनाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत थापामगरले बताए । ‘उहाँहरुले ड्राइभिङ सेन्टरमा गएर अटो चलाउन सिकेर मात्रै पनि पुग्दैन, त्यहाँबाट बाहिर निस्किएर चलाउनका लागि दक्षताको प्रमाणपत्र पनि चाहिन्छ,’ उनी भन्छन्, ‘ड्राइभिङ सेन्टरबाट लाइसेन्सको लागि यातायात कार्यालयसम्म जान लेखापढी जान्नु पर्छ । हामीले तालिम संगसंगै अन्य कुरासँगै लेखापढीलाई पनि प्रथमिकतामा राखेका छौं ।’
पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी चलाउन पाउने अनुमति छैन । पालुङ्टार नगरपालिकाले भने तीन पाङ्ग्रे सवारी चलाउन पाउने गरी आफ्नै विधान बनाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । ‘अहिले उहाँहरु सिक्ने क्रममा हुनुहुन्छ, लाइसेन्स निकाल्ने बेलासम्म नगरपालिकाले तीन पाङ्ग्रे सवारी चलाउन पाउने विधान बनाउने तयारीमा जुटेको छ,’ उनले भने, ‘नगरपालिका भित्रै अटो रिक्सा चलाउन पाए भने सिकाईको उपलब्धि पनि महिलाहरु स्वरोजगार पनि हुन्छ ।’
सिकेकामध्य ४ जनाले लाइसेन्स निकाली सकेको नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् । बाँकीलले पनि ट्रायलको तयारी गरिरहेको उनले जानकारी दिइन् । लाइसेन्स निकालेका महिलहरुको अब एउटा जिवीकोपार्जनको आधार तय भएको उनी बताउँछिन् । ‘४ जनाले त लाइसेन्स पनि निकाली सक्नु भएको छ,’ उनले भने, ‘बाँकीले पनि निकाल्ने तयारी गरिरहेको छ ।’ सहभागी मध्य ९० प्रतिशत कुमाल समुदायका महिलाहरु रहेको उनको भनाई छ ।
निकै उत्सुकताको साथ तालिममा सहभागि भएको उपप्रमुख पाण्डेले बताइन् । ‘५० वर्षका महिला दिदीबहिनी पनि तालिममा सहभागी हुनुहुन्थ्यो । सबै जनाले उत्सुकताका साथ सिक्नु पनि भयो,’ उनले भनिन्, ‘घरमा श्रीमान अशक्त अवस्थामा रहेका श्रीमतीले पनि लाइसेन्स निकालेको देख्दा एउटा आशाको किरण पलाएको छ, निकै खुसी लागेको छ ।’
पालुङटार नगरपालिकाको अधिकांश भू–भाग समथर र गुणस्तरीय सडक भएकाले तीन पाङ्ग्रे सवारी चलाउन सहज हुने उनले धारण व्यक्त गरिन् । पहाडी जिल्ला भएता पनि पालुङटार तीन पाङ्ग्रे सवारीको लागि उचित क्षेत्र हो । यस्ता सवारी चलाउनका लागि नगरपालिका आफ्नै नीति बनाउने तयारीमा रहेको उनले बताइन् ।




