गोरखाका १७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका १७ हजार ११८ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम शनिबारबाट सुरु भएको छ । जन्मेको ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।
साथै १५ हजार ६८ जना बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । एकबर्षदेखि ५ बर्षसम्मका बालकालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको उनले बताए । सरकारले शनिबार र आइतबार दुई दिनसम्म देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो । खोप अभियान आज (आईतबार)सम्म चल्नेछ ।
‘शनिबार भिटामिन ए र जुकाको औषधी खुवाउन जिल्लाभर ६२४ जना कर्मचारी परिचालन भए’, जनस्वास्थ्य निरीक्षक नवराज खड्काले भने, ‘शनिबार छुटेकालाई आइतबार घरघरमा गएर खुवाउने कार्यक्रम छ ।’ सो अभियानअन्तर्गत कुपोषण भए नभएको पत्ता लगाउन नाडी नाप्ने कार्यक्रम पनि रहेको छ । यदि कसैमा कुपोषण भेटिएमा परामर्श दिने कार्यक्रम पनि रहेको छ । साथै बालभिटा खुवाउने कार्यक्रम पनि संगसंगै सुरु भएको खड्काले बताए ।




