
बनटार चेपाङ बस्तीको खानेपानी आयोजना अलपत्र
प्रतिक्षा आले :
गण्डकी गाउँपालिका–६ बनटार स्थित चेपाङ बस्तीको खानेपानी आयोजना विगत तीन वर्षदेखि अलपत्र छ । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ अभियान अन्तरगत बनटारमा आर्थिक वर्ष २०७८÷७९ मा खानेपानी आयोजनाको काम सुरु भएको थियो ।
आयोजना अन्तरगत संरचना निर्माणको काम दुई वर्षअघि नै सम्पन्न भइसकेको छ । तर, हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङ बताउँछन् । हरेक वर्षको सुख्खा याममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको उनले गुनासो गरे । ‘घरमा धारा जोडेको दुईवर्ष भइसक्यो तर पानी छैन । पाहुनापाछा आउँदा दिने पानी पनि हुँदैन’, उनले भने । बनटारबासीले हाल खानेपानीको ट्याङ्कीमा जम्मा भएको धमिलो पानी खाएर गुजारा चलाइरहेको चेपाङको भनाइ छ ।
‘रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी पाइप टाँगेर खाएका छौँ । कहिले काँही पानीको निहुँमा गाउँमा झगडा हुन्छ । पानी पर्दा पाइपमा भल पस्छ’, उनले भने, ‘धारामा पानी आए आनन्द हुन्थ्यो । कसैसँग झगडा गर्नु पर्दैनथ्यो ।’
गाउँमा खानेपानीको व्यवस्था नहुँदा बनटारको ५५ घरधुरीले कुवाको धमिलो पानी खान बाध्य भएको बनटार खानेपानी उपभोक्ता समितिका सचिव धनबहादुर गुरुङले बताए । स्थानीयहरुले श्रमदान नगरेका कारण गाउँमा संचालित खानेपानी आयोजना पनि अलपत्र बनेको उनले जानकारी दिए । ‘खानेपानीको ट्याङ्की, धारा लगायतका संरचनाहरु निर्माण भएर पनि अलपत्र अवस्थामा छन्’, उनले भने, ‘यो आयोजना पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो तर यहाँका चेपाङ समुदायहरु बिना पैसा काम गर्न खोज्दैनन् त्यसैले अहिलेसम्म नबनेको हो ।’ चेपाङ समुदायको असहयोगका कारण नै खानेपानी आयोजनाको काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।
‘यहाँ खानेपानीको धेरै नै समस्या छ । त्यसैले जिल्लाबाट एकघर एकधारा खानेपानी योजना संचालन भएको थियो तर स्थानीयहरुले गर्नुपर्ने श्रमदान गरेनन्’, सचिव गुरुङले भने, ‘अहिले सबै गाउँलेहरु स्वच्छ खानेपानीबाट बन्चित हुनुपरेको छ । निर्माण सम्पन्न भइसकेको खानेपानीको मुहान पनि हाल जीर्ण अवस्थामा छ ।’ खानेपानी समितिले आवश्यक समन्वय गरेता पनि चेपाङ समुदायका कोहीपनि श्रमदानका लागी तयार नभएको गुरुङले बताए ।
उनी भन्छन्, ‘५५ घरधुरीमा ७० प्रतिशत चेपाङ समुदायका नै छन् । उनीहरु बिना पैसा काम गर्दैनन् । त्यसैले समस्या भएको हो ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका सव–इन्जिनियर दिपक खनालले पनि स्थानीयले श्रमदान नगरेका कारण आयोजना सम्पन्न हुन नसकेको बताए । ‘खानेपानी आयोजनाहरुमा पानी वितरणको काम श्रमदानबाटै गर्नुपर्ने प्रावधान छ । त्यहाँ संरचना निर्माणको काम सम्पन्न भई भुक्तानी समेत भइसकेको छ । श्रमदानको पाटोले गर्दा रोकिएको हो’, उनले भने । कार्यालयले स्थानीयहरुसँग आवश्यक समन्वय गरी यही आर्थिक वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने खनाललले बताएका छन् ।




