
बिहीमा मोतियाबिन्दुको शल्यक्रिया गर्दै डाक्टर सन्दूक रुइत
नेपालका चर्चित आँखारोग विशेषज्ञ डाक्टर सन्दूक रुईत उत्तरी गोरखाको दुर्गम बिही गाउँमा संचालित आँखा उपचार शिविरमा व्यस्त छन् । विश्वका सयभन्दा धेरै देशमा पुगेर आँखाको उपचार गरिसकेका डाक्टर रुइत चुमनुब्री ५ बिहीमा गत सोमबार आइपुगेका थिए । उनी मंगलबार दिनभर शल्यक्रियामा व्यस्त रहेका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
मंगलबार र बुधबार सञ्चालन हुने शिविरमा ९० जनाभन्दा धेरै मोतियाविन्दूका बिरामीको आँखाको शल्यक्रिया गर्ने कार्यक्रम रहेको लामाले बताए । पालिकाले यसअघि नै मोतियाबिन्दूको शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको पहिचान(स्क्रिनिङ) गरिसकेको उनले जानकारी दिए । ‘स्क्रिनिङमार्फत मोतियाबिन्दू भएकाहरुको यसअघि नै पहिचान गरिसकेका थियौँ ।
उहाँहरुलाई र कोही थप भए उहाँहरुको पनि शिविरमा शल्यक्रिया हुन्छ’, उनले भने, ‘शल्यक्रिया गरिएकाहरुको आँखाको पट्टी बुधबार एकसाथ खोल्ने कार्यक्रम रहेको छ ।’ शिविरमा चुमनुब्री गाउँपालिकाका सातै वडाबाट आँखाका बिरामीहरु उपचारका लागि आएका उनले बताए ।
चुमनुब्री गाउँपालिका, सेराङ गुम्बा, देलेक बाल फाउन्डेशन र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर संचालन भएको पालिका अध्यक्ष लामाले बताएका छन् । शिविरमा डाक्टर रुइत सहित १२ जना विषेशज्ञको टोली शल्यक्रियाका लागि खटिएको लामाको भनाइ छ । शिविरमा निशुल्क रुपमा आँखा जाँच, आँखाको शल्यक्रिया र चस्मा वितरण गर्ने पालिकाले जनाएको छ ।




