
अजिरकोट–२ पूर्ण खोपयुक्त वडा घोषणा
अजिरकोट गाउँपालिका वडा नम्वर २ खरिबोट पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप वडा घोषणा गरिएको हो ।
‘हामीले घरधुरी सर्वेक्षण गर्दा वडामा १६ देखि २३ महिनासम्मका २९ जना बालबालिका रहेछन्,’ पालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने, ‘उनीहरुले पाउनुपर्ने खोप सबै लगाएको पाएपछि वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।’ मंगलबार खरिबोट स्वास्थ्य चौकीमा औपचारिक रुपमा पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममार्फत वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।
वडाध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिपक देवकोटाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडी, पालिकाका अन्य कर्मचारीहरु, जनप्रतिनिधि, स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।




