
शिक्षक आन्दोलनको असर : कतै नतिजा रोकियो, कतै ग्रेडवृद्धि परीक्षा अनिश्चित
विकास मरहट्टा ।
नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनका लम्बिँदै जाँदा जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुको वार्षिक परीक्षाको नतिजा रोकिएको छ । नयाँ शैक्षिक सत्रको कक्षा संचालन हुने दिन नजिकिए पनि हालसम्म अधिकांश विद्यालयले नतिजा सार्वजनिक गरेका छैनन् ।
चैत्र महिनाभित्र नतिजा सार्वजनिक गर्ने र बैशाख २ गतेदेखि भर्ना अभियान संचालन गर्ने शैक्षिक क्यालेण्डर प्रचलनमा छ । आन्दोलनरत शिक्षक नफर्किँदा यी सबै काम प्रभावित बनेको छ । ‘यो महिनाभित्रै रिजल्ट गर्ने भन्ने थियो,’ अजिरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्तले भने, ‘शिक्षकहरुको आन्दोलनले गर्दा नतिजा सार्वजनिक हुन सकेको छैन ।’
अन्य पालिकाका सामुदायिक विद्यालयमा पनि अवस्था उस्तै छ । आन्दोलनकै कारण आजदेखि हुने भनिएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित बन्न पुगेको छ । सामुदायिक विद्यालयका विद्यार्थी निजीमा जान सक्ने सम्भावना बढेको गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
‘भोलिबाट भर्ना अभियान सुरु गर्नुपर्ने, विद्यार्थीको घरघरै पुगेर अभिभावकलाई आस्वस्त पार्नुपर्ने हो,’ उनले भने, ‘त्यसै त सानो कक्षामा भर्ना गर्न निजी विद्यालय रोज्ने प्रवृति बढेको छ, यही बेला आन्दोलनले भर्ना अभियान प्रभावित भएपछि अवस्था के होला ?’ विद्यार्थीहरु निजी विद्यालयतर्फ जाने प्रवल सम्भावना रहेको उनको भनाइ छ ।
पालुङटार नगरपालिका शिक्षा शाखा प्रमुख मनोज नेपाली सिर्मलले पनि सोही कुरा दोहो¥याए । भने, ‘यो बेला विद्यालयले अभिभावक भेट्ने, विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गर्न अनुरोध गर्नुपर्ने हो । शिक्षकहरुसँग बसेर नयाँ शैक्षिक सत्रका लागि रणनीति बनाउनुपर्ने त्यो पनि प्रभावित भयो ।’
शिक्षक आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा समेत प्रभावित बनेको शहिदलखन गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ‘हामीले २२ गते सबै विद्यालयको नतिजा सार्वजनिक गरिसकेका थियौँ,’ उनले भने, ‘वैशाख २ देखि विद्यालयको पठनपाठन सुरु गर्ने भन्ने थियो तर अव सम्भव देखिएन ।’ शैक्षिक क्यालेन्डर लगायतका सामग्री बनाउने काम पनि हुन नसकेको उनले जानकारी दिए ।
आजदेखि ग्रेडवृद्धि परीक्षा संचालन गर्ने निर्णय गरेको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उनले जानकारी दिए ।
शिक्षक आन्दोलनको प्रभावले विद्यालयमा नयाँ पाठ्यपुस्तक समेत पुग्न सकेको छैन ।
व्यवसायीहरुको पसलमै पाठ्यपुस्तक थन्किएको छ । सिजन पुस्तक पसल आरुघाटका सुजन श्रेष्ठले पाठ्यपुस्तक आएपनि शिक्षकहरु आन्दोलनमा भएकाले लिन नआएको बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव एवं पुष्पाञ्जली पुस्तक पसलका प्रोपराइटर प्रदिप खनालले पनि यतिबेला अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने भएपनि आन्दोलनले प्रभावित बनेको जानकारी दिए ।




