| सोमवार, कार्तिक २३, २०८३

गोरखा–जीतगढी ऐतिहासिक पदयात्रा सुरु

ऐतिहासिक पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहिबार गोरखा दरबारदेखि जीतगढीसम्मको पदयात्रा सुरु गरेको छ । ११ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहिबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ ।

नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो ।

ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई बिहिबार बिहान नौ बजे पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिँह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगायतले विदाइ गरेका थिए । उनीहरुले नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।

सो अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरूले मन्त्र वाचन गरेर र महिला समूहको पञ्चैबाजा, नेपाली सेनाको ब्याण्डबाजा समूहले बाजागाजासहित विदाइ गरेका थिए । नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जीतगढीसम्मको ११ दिने पदयात्रा गर्न लागेको हो ।

२०७९ सालदेखि सुरु गरिएको यो पदयात्रा अहिले तेस्रो पटक भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको रिपुमर्दन गणका गणपति अशोक क्षेत्रीले जनाए । यात्रामा सहभागी सो गणका ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दूरी आठ दिनमा पूरा गर्नेछन् ।
गोरखा दरबारबाट चैत २८ गते सुरु भएको यात्रा पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गर्नेछ । तनहुँमा चैत २९, ३० र ३१ गते यात्रा रहनेछ । वैशाख २, ३, ४ र ६ गते टोली पाल्पा पुग्नेछ । ६ गते जीतगढी पुगेपछि यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ ।

यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी छन् । यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्