
बालिकालाई यौन पेशामा संलग्न गराउनेलाई पाँचबर्ष जेल सजायँ
बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको कसुरमा गोरखा घर भएका एक युवालाई पाँच वर्ष कैद र २५ हजार जरिवाना तोकिएको छ । गोरखा नगरपालिका ११ का २१ बर्षका निरज ढकाल काठमाडौँ जिल्ला अदालतले कैद तथा जरिबाना तोकेको हो ।
ढकाललाई गोरखा प्रहरीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतलाई बुझाएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले गत मंसीर ५ गते मानव बेचबिखन तथा ओसारपसार कसुरमा पाँच वर्ष कैद सजायँ र २५ हजार जरिवानाको फैसला गरेको थियो ।
त्यसअघि २०७९ पुस ७ गतेको काठमाडौं जिल्ला अदालतकै आदेशले ढकाल एक लाखमा धरौटी छुटेका थिए ।
ढकाल समेतले काठमाडौंको टोखा नगरपालिका ९ मा घर भाडामा लिई खाजाघर सञ्चालन गरी उक्त खाजाघरमा आउने ग्राहकबाट जनही एक हजार लिई बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेका थिए । साथै सो कुरा बाहिर कसैलाई बताएमा ज्यान समेत लिने भन्दै डर, त्रासमा राखेको भन्दै पीडितले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी परेको थियो ।
उजुरीपछि ब्यूरोको टोलीले उनलाई २०७९ मंसिर २५ गते पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो । जिल्लाले शुरूमा उनलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।
पछि कैद र जरिवानाको फैसला सुनायो । अदालतको फैसलापछि फरार रहेका उनलाई मंगलबार गोरखाबाट पक्राउ गरेर अदालतको पत्रसहित बुधबार कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौं चलान गरिएको ब्यूरोका प्रवक्ता, एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।




