| आइतवार, कार्तिक २२, २०८३

धुवाँकोटको तामाखानी अध्ययन सुरु

१२० बर्षभन्दा पहिले सञ्चालनमा रहेर बन्द रहेको धुवाँकोटको तामाखानीबारे अध्ययन सुरु भएको छ । पालुङटार नगरपालिका ८ धुवाँकोटको जंगलमा रहेको तामाखानीको खानी तथा भूगर्भ विभागका इञ्जिनियर सुजन देवकोटाको टोलीले अध्ययन गर्न सुरु गरेको हो ।
स्थानीयबासी र नगरपालिकाको अनुरोध एवं प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले अध्ययन थालेको वडाअध्यक्ष होपबहादुर नेपालीले जानकारी दिए । ‘इञ्जिनियरसाप् र जनप्रतिनिधिसहित १० जनाको टोलीले खानीभित्र छिर्ने बाटो बनाउन प्रयास गरेको थियो’, नेपालीले भने, ‘तर यत्तिका बर्षसम्म प्रयोगबिहिन भएको खानीको प्रवेशद्वार भत्किएर, भास्सिएर भित्र पस्न नसक्ने भएको रहेछ । त्यसैले अस्ति सम्भव भएन । अब फेरि थप बलसहित खन्ने प्रयास गर्नेछौँ ।’ त्यहाँको ढुंगा, माटो आदि अध्ययन अनुसन्धानका लागि खानी तथा भूगर्भविभागमा पठाउने निर्णय भएको वडाअध्यक्ष नेपालीले बताए ।

पहिरोले खानीभित्र जाने बाटो थुनिएर अध्ययन, अनुसन्धान गर्न कठिनाइ भएको विभागका इञ्जिनियर सुजन देवकोटाले बताए । ‘धुवाँकोटमा सयबर्षअघि सञ्चालनमा रहेर बन्द भएकाले तामा छ कि छैन भन्नेमा शंका छैन । तर सयबर्षदेखि बन्द भएको ठाउँ एकदुई दिन खनेर खानीभित्र पस्न सक्ने ठाउँ बनाउन सकिँदैन ।

त्यहाँ अझै खन्नुपर्दछ’, उनले भने, ‘यहाँमात्र होइन, नेपालको पहाडी भूभागमा तामाखानी बग्रेल्ती छन् । तर अन्दाजमा उत्खनन गर्न मिल्दैन, त्यसैले प्रारम्भिक अनुसन्धान गरेर मात्र उत्खनन गर्नेछौँ ।’ गोरखाको ग्याजी तामाखानी उत्खननका लागि दुई बर्ष लगातार टेण्डर गर्दा पनि कसैको आवेदन नआएकाले यसबर्ष प नि टेण्डरको तयारीमा रहेको उनको भनाइ छ ।

तर स्थानीयबासीको भने सरकारले तामाखानीलाई बेवास्ता गरेको गुनासो छ । खानीको अध्ययन भएर सञ्चालनमा ल्याउन सके जिल्लाकै आर्थिक कारोबारले फड्को मार्ने र हजारौं युवाले रोजगारी पाउने स्थानीय काजीराम परियारको भनाइ छ । त्यस्तै स्थानीय खानीबाट तामा निकाल्न सके तामाका भाँडाकुँडाको आयात रोकिने र निर्यात गर्न सकिने उनी बताउँछन् ।

तत्कालीन श्री ३ चन्द्र शमशेरबाट इजाजत पाएपछि गाईखुर घर भएका चारखालका डिठ्ठा रामदत्त पन्तले धुवाँकोटमा तामा खानी उत्खनन गरेका थिए । उत्खनन गरेको पहिल्यै दिन ८२ धार्नी तामा निकालेका उनका पछिल्ला पुस्ताका रामजी पन्त बताउँछन् । यहाँको तामा लगेर गाईखुर बरफडाँडामा तामाको पाताले छाएको घर बनाउने योजना बनाउँदै थिए ।

तर त्यति नै बेला दोस्रो विश्वयुद्धले ध्वस्त बनेका विकसित मुलुकका संरचना बनाउन तथा हतियार बनाउन तामाको हाहाकार भएको थियो । त्यसैले तामाको पाताले घर छाएको प्रचार प्रसार भएमा अन्तर्राष्ट्रिय स्तरबाटै खतरा हुने त्रासले यो प्रोजेक्ट सफल भएन । वनभरि तामाका मुना फेला पारेपछि यसको उत्खनन स्थानीयबासीले श्री ३ संग उठबस भएका गाईखुरका रामदत्तलाई अनुरोध गरेका थिए ।

मनग्य तामा उत्खनन गरेपछि हौसिएका रामदत्त डिठ्ठाले स्थानीय देवदेवीको दोष मेटाउने हेतुले त्यसको आसपास सिद्धबाबाको थान स्थापना गरे । त्यहाँ हरेक मंगलबार पूजा गर्ने थिति बसाले । त्यहाँ नगरा बजाउने नचर्गीलाई रातामाटेमा १० मुरीमाटो बकस दिए । त्यहाँ अहिले पनि हरेक मंगलबार पूजाआजा हुनेगर्छ ।

खानीभित्र तामा अथाह छ भन्ने जान्दाजान्दै उनले चार वर्षपछि उत्खनन बन्द गरे । १९६९ सालमा रामदत्त पन्तको देहावशासन भयो । त्यसपछि व्यक्तिगत, संस्थागत तथा राज्यस्तरबाट कसैले पनि तामाखानी सञ्चालनमा रुचि देखाएनन् ।

प्रतिक्रिया दिनुहोस्