| मङ्लबार, कार्तिक २४, २०८३

वायु प्रदूषणको दुस्प्रभाव बढ्दै, अतिआवश्यक बाहेक घरबाहिर ननिस्कन डाक्टरको सुझाव

केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सिद्धार्थ खनालले बताए । हाल विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ । जिल्लामा पनि यसको दुश्प्रभाव देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले वायु गुणस्तर सूचाङ्क (एक्यूआई) १०० भन्दा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार मंगलबार गण्डकी प्रदेश आसपासको क्षेत्रहरुको वायु गुणस्तर सूचाङ्क (एक्यूआई) ११७ पुगेको छ । डब्ल्यूएचओका अनुसार एयर क्वालिटी इन्डेक्स ११७ रहेको स्थानमा बस्नेले दैनिक दुईवटा चुरोट खाए जति नै असर गर्दछ ।

केहीदिन यता गोरखा सदरमुकाम लगायत बजार क्षेत्रहरु र समग्र जिल्लामा पनि वायु प्रदूषणको प्रत्यक्ष असर देखिएको छ । वायु प्रदूषणको असर नेपाल जस्तो बिकासोन्मुख देशमा अझ बढी देखिने डाक्टर खनाल बताउँछन् । ‘समग्रमा देशमा वायु प्रदुषणको मुख्य कारण डँढेलो हो’, उनले भने, ‘बढ्दो औद्योगिकीकरण, अपुरो विकास निर्माणका योजनाहरु, वन विनाश र जलवायु परिवर्तन पनि वायु प्रदुषणको कारक तत्व हुन् ।’ नेपालमा वायु प्रदुषणको अर्को मुख्य कारण छिमेकी राष्ट्र चीन र भारतको बढ्दो औद्योगिकीकरण समेत रहेको खनालको भनाइ छ ।

उनी भन्छन्, ‘अहिले सडकमा सवारी साधनहरुको चाप बढ्दो छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुले कार्वोनमोनोअक्साइड नामक ग्याँस उत्पादन गर्छ जसको कारण पनि वायु दुषित् बनेको हो ।’ निजी सवारी साधनहरुको बढ्दो सङ्ख्याका कारण पनि वायु प्रदूषण बढेको उनले बताए । यसैगरी, पुराना सवारी साधानहरुले बढी मात्रमा धुँवा उत्पादन गर्ने हुँदा पुराना साधनहरुको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने उनको भनाई छ ।

जलवायु परिवर्तन, क्रसर र उद्योग कलकारखानाहरु पनि वायू प्रदुषणका मुख्य कारक हुन् । वायु प्रदूषणको प्रत्यक्ष असर स्वास्थ्यमा देखिएको छ । केहीदिनदेखि निकै प्रदूषित् बनेको जिल्लाको वायुमण्डलले जनजीवनमा गम्भीर असर पु¥याएको छ ।
वायु प्रदूषणका कारण दमको बिरामीको सङ्ख्या बढेको डाक्टर खनालले जानकारी दिए ।

‘केही दिनदेखि वायु प्रदूषण ह्वातै बढेकाले त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा देखिएको छ’, उनले भने, ‘वायु प्रदुषणले श्वासप्रश्वासमा गम्भीर असर पु¥याउनुका साथै आँखा पोल्ने, शरीर चिलाउने र चिड्चिडापन बढाउँछ ।’ वायु प्रदूषणको दीर्घकालीन असरहरु भने घातक रहेको उनले बताएका छन् । वायु प्रदूषणले मुटु तथा रक्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउने उनले बताए ।

यस्तै यसले श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, दमको रोग, दीर्घ श्वासप्रश्वास अवरोध रोग, फोक्सोको क्यान्सरको जोखिम, मस्तिष्कघात हुने जोखिम, छालाको समस्या, आँखा, नाक र घाँटीको संक्रमणहरुको जोखिम आदिलाई बढाउने खनालको भनाइ छ । अहिलेको वायु प्रदूषण प्रेसर र दमका रागीहरुका लागी निकै हानीकारक हुने उनले जनाए ।

वायु प्रदूषणको दुष्प्रभावबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन डा खनालले सुझाव दिएका छन् । बाहिर निस्किनु नै पर्ने अवस्थामा अनिवार्य रुपमा मास्क र चस्मा लगाउन, नियमित रुपमा आँखा तथा अनुहार सफा गर्न, चुरोटको सेवन नगर्न र प्रयाप्त मात्रमा भिटामिन सि युक्त खानेकुराहरु सेवन गर्न उनी सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्