
लघु जलविद्युत मर्मतपछि गाउँ फेरी झलमल
पहिरोले जलबिद्युत आयोजना क्षति पुगेपछि विगत ६ महिनादेखि अन्धकार बनेको उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेत लगायतका गाउँ अहिले फेरी झलमल बनेको छ । लघुजलबिद्युत मर्मतपछि गाउँमा पुनः बिजुली बलेको हो ।
‘गत साउन १२ गतेको पहिरोले चुम्लिङ–चुम्चेत लघुजलविद्युत आयोजना बगायो,’ वडा नम्वर ६ का अध्यक्ष सरोज लामाले भने, ‘गाउँलेहरु मिलेर जसोतसो मर्मत गरी अस्थायी रुपमा विजुली बालेका थियौ ।’ भदौमा आएको पहिरोले पुनः जलबिद्युत बगाएपछि गाउँमा बिजुली अवरुद्ध बनेको र मर्मत पश्चात अहिले बिजुली बलेको उनले बताए ।
उनका अनुसार पहिरोले लघुजलबिद्युत आयोजना जगैदेखि बगाएको थियो । कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाजले आयोजना मर्मत गरी पुनः संचालनमा ल्याएको हो । उक्त आयोजना कादुरी संस्थाले नै बनाएको हो ।आयोजनामा पुगेको क्षतिका कारण बिद्युत अवरुद्ध हुदाँ चुमनुव्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका दुई सयभन्दा बढी घरधुरी अन्धकारमा बस्न बाध्य थिए ।
विद्युत नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी समेत गर्न नपाइएको स्थानीय लोप्साङ धार्के लामाले बताए । बिद्युत नहुदाँ मोवाइल चार्ज समेत गर्न नपाइएको उनको भनाइ छ । तर अहिले आयोजना मर्मत भएपछि गाउँ नै उज्यालो बनेको उनले जानकारी दिए ।
सो गाउँमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छैन । बिजुलीका लागि लघुजलबिद्युतमै निर्भर हुनुपर्ने बाध्यता छ । २०७९ जेठ १५ गते निर्माण भएको ७५ किलोवाट क्षमताको उक्त लघुलजबिद्युत आयोजनाबाट स्थानीयले बत्ति बाल्दै आएका छन् ।




