
सुनका गरगहना ठगी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ
सुनका गरगहना ठगी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार प्रदेश जदिया सुपौल बस्ने ३२ बर्षीय पिन्टु शाह र ४१ बर्षीय सन्तोष कुमार शाह रहेको प्रहरीले जनाएको छ ।
मंगलवार दिउँसो करिव दुई बजेको समयमा सिरानचोक गाउँपालिका–६ भलायाडाँडाका स्थानीय महिला, वृद्धवृद्धाले लगाईराखेको तथा उनीहरुको साथमा भएको सुनचाँदीका गरगहना सरसफाई गरी चम्काइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
‘सुनचाँदीका गरगहना चम्काईदिने भ्रममा पारी बिभिन्न किसिमका रसायनीक पदार्थहरु प्रयोग गरेर गहनाको तौल घटाई ठगी गरिरहेको भन्ने सूचना पायौ,’ उनले भने, ‘लगतै हाम्रो टोली पुगेर उनीहरुलाई नियन्त्रणमा लियो ।’ उनीहरुको साथबाट सुनचाँदी लगायतका धातु गाल्न प्रयोग हुने रसायनीक पदार्थ तथा उक्त कार्य गर्नका लागि उनीहरुले प्रयोग गर्ने सामग्रीहरु बरामद गरिएको डिएसपी सुवेदीले जानकारी दिए ।
पक्राउ परेकाहरुबिरुद्ध ठगी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ । उक्त व्यक्तिहरुबाट यसअघि कोही ठगिएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।




