
बारपाक लाप्राक सडक : ५ वर्षमा ६३ प्रतिशत मात्र प्रगति
बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नती कामको प्रगति पाँच बर्षमा ६३ प्रतिशत मात्र रहेको छ । २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता भएको उक्त सडकको हालसम्म ६३ प्रतिशतभन्दा बढी भौतिक प्रगति नभएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको आयोजनाका रुपमा रहेको बारपाक–लाप्राक सडक खण्ड निर्माणका लागि कार्यालयले एम÷एस शर्मा बिकोई जेभीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउने लगायतको जिम्मेवारी पाएको छ । दुई वर्षभित्र सक्ने गरी ३४ करोड १५ लाख ७१ हजार १ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेपनि हालसम्म काम सम्पन्न भएको छैन ।
तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले २०८० जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप गरेको थियो । हाल दोस्रो पटक म्याद गरी काम संचालन भईरहेको कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए । ‘आगामी बैशाख ७ गतेसम्मका लागी दोस्रो पटक म्याद थप भएको छ तर उक्त समयसिमाभित्र पनि काम सम्पन्न हुने अवस्था छैन’, उनले भने । बजेटको अभाव, भौगोलिक विकटता, हिमपात, मनसुन, कोभिड, निर्माण सामाग्रीको मूल्यवृद्धि लगायत विविध कारण सडक निर्माणमा ढिलाई भएको उनले जानकारी दिए ।
बारपाक–लाप्राक सडक अन्तरगत यो आर्थिक वर्ष बारपाक–गुुप्सीपाखा सडक स्तरोन्नतिका लागि २ करोड २० लाख बजेट विनियोजन भएको इन्जिनियर काप्रीले बताए ।सो सडकखण्डमा हाल ग्राभेलको काम भईरहेको छ । ‘ग्याबियन लगाउने, मेसेनरी वाल लगाउने र एक मिटर चौडाइको नाला निर्माणको काम भने सम्पन्न भईसकेको छ’, उनले भने ।
निर्माण कम्पनीले भने यो आर्थिक वर्ष न्युन बजेट बिनियोजन भएका कारण कार्यान्वयनमा समस्या भएको गुनासो गरेको छ । समयमै सडक स्तरोन्नती नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणलाई महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।




