
ओल्ड क्यापिटल स्कुलले ल्यायो विद्यार्थी लक्षित बिशेष छात्रवृत्ति कार्यक्रम
गोरखा नगरपालिका–८ रानीवनस्थित द ओल्ड क्यापिटल बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी लक्षित बिशेष छात्रवृत्ति कार्यक्रम ल्याएको छ । सार्वजनिक सूचना मार्फत बिद्यालयले गोरखाका बिभिन्न पालिकाका बिद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिको प्याकेज सार्वजनिक गरेको हो ।
गोरखा नगरपालिकाभित्रका विद्यार्थीको हकमा कक्षा ७ र ८ को द्धितिय वा तृतीय परीक्षामा उत्कृष्ट जिपिए ल्याउने तीन जना बिद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने प्रधानाध्यापक जनक केसीले बताए । ‘सरकारी तथा निजी जुन बिद्यालयमा अध्ययन गरेको भएपनि हुन्छ,’ उनले भने, ‘उत्कृष्ट जिपिए ल्याउनेमध्ये तीन जनालाई भर्ना शुल्क, मासिक शुल्क र बस शुल्क सबै छुट दिन्छौ ।’
कक्षा ५ र ६ को द्धितिय वा तृतीय वा बार्षिक परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरेका बिद्यार्थीलाई कक्षा १० सम्म ५० प्रतिशत छुटमा अध्यापन गराइने उनले जानकारी दिए ।
जिल्लाका अन्य पालिकाहरुको हकमा भने कक्षा ८ को पालिका स्तरीय परीक्षामा सर्वाेत्कृष्ट जिपिए ल्याउने प्रत्येक पालिकाका एक÷एक जना बिद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने उनले बताए ।
गोनपा ८ का स्थायी वा अस्थायी वसोवासीका लागि नयाँ भर्नामा ५० प्रतिशत र मासिक शुल्कमा १० प्रतिशत छुट दिइने बिद्यालयले जनाएको छ ।
‘वडा नम्वर ९ का स्थायी बसोवासीका लागि छुट्टै अफर छ,’ बिद्यालयका प्रअ केसीले भने, ‘सोही वडाको जुनसुकै सरकारी वा निजी बिद्यालयमा अध्ययनरतमध्ये सय जना बिद्यार्थीलाई हाम्रो बिद्यालयमा एक बर्षका लागि निशुल्क अध्यापन गराउँछौ ।’ गरिव तथा जेहेन्दार वा विद्यालयले निर्धारण गरेको मापदण्ड पुग्ने विद्यार्थीले छात्रवृत्तिको सुविधा पाउने उनले बताए । चैत्र २५ गतेसम्म छात्रवृतिका लागि आवेदन भर्न सकिने बिद्यालयले जनाएको छ ।




