| आइतवार, कार्तिक २२, २०८३

चुमनुव्रीका सात सय घरधुरीमा धारा जडान

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न संचालन भएको ‘चुमनुब्री बृहत योजना’ अन्तरगत सात सय घरधुरीमा धारा जडान भएको छ । गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियान अन्तरगत योजना लागू भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएर काम अघि बढेको उक्त योजनाको हालसम्मको प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले जनाएको छ । ‘पालिकाको वडा नं २, ३, ४, ५ र ६ लाई योजनाले समेटेको छ,’ कार्यालयका सब–इन्जिनियर दिपक खनालले भने, ‘हालसम्म सात सय घरधुरीमा धारा जडान भइसक्यो ।’ योजनाका लागि पराजुली होम निर्माण सेवा कम्पनीसँगै सम्झौता भएको उनले जानकारी दिए ।

सम्झौता अनुसार २०८३ असार मसान्तभित्र योजना सम्पन्न गर्नुपर्ने छ । योजनाका कुल लागत ६ करोड ६० लाख रहेको छ । सबै घरधुरीमा धारा जडान भइसकेकाले छिट्टै योजना सम्पन्न हुने कार्यालयले जनाएको छ । योजना अन्तरगत केबल क्रसिङ र केही ठाउँमा पाइपलाइन विस्तारको काम बाँकी रहेको सव इन्जिनियर खनालले बताए ।

भौगोलिक विकटताका कारण चुमनुब्रीमा योजना संचालन गर्न असहज नभएपनि निर्धारित समयमा योजना सम्पन्न हुने उनको भनाइ छ । बृहत खानेपानी योजना सम्पन्न भएसँगै चुमनुव्रीको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्