
विद्युत कार्यालय जिम्मेवार बनोस्
विद्युत कार्यालयको लापरवाही र मनोमानी विगतदेखिकै दिर्घकालिन समस्या हो । कार्यालयको लापरवाहीका कारण उपभोक्ताले समस्या भोग्नु परेको त छ नै, जनधनको क्षतिमा पनि कार्यालय जिम्मेवार छ । कार्यालयका केही नविनतम कार्यहरु पनि यस्तै लापरवाहीले ओझेलमा पर्ने गरेको छ । ठुलै जिम्मेवारी वहन गरेको विद्युत कार्यालय यसरी गैरजिम्मेवार बन्नु उचित होइन ।
अन्य जिल्लामा यस्तो समस्या भएको बिरलै सुनिन्छ । तर गोरखाको सन्दर्भमा भने विद्युत अनियमितताको समस्या ज्यूँ का त्यूँ छ । विना जानकारी बिद्युत आउने जाने समस्याले पनि हल पाएको छैन । अझ थप समस्या के छ भने विद्युत सेवा अवरुद्ध हुदाँ ‘माथिबाटै हो’ भन्ने कार्यालयको ‘रेडिमेट’ जवाफले जिल्लावासी आजित भइसके ।
कहिलेकाँही कार्यालयको फोन समेत नलाग्ने बनाएर कर्मचारीहरु बिश्राममा हुन्छन् । कार्यालय प्रमुख समेत मोवाइल अफ गरेर समस्याबाट भाग्न खोज्छन् । कार्यालय र कर्मचारीको यो प्रवृति र व्यवहार शनिवार नै छर्लङ्ग भइसक्यो । जनघनत्व बढेसँगै विद्युत सेवा विस्तारको क्षेत्र पनि फराकिलो बन्दै छ । प्राविधिक कुरा भएकाले कहिलेकाही समस्या आउनु स्वभाविक हो ।
समस्या आउँछन् तर समस्याबारे प्रष्ट रुपमा उपभोक्तामाझ जानकारी गराउन सक्नु पनि एउटा समाधानको उपाय हो । सम्पर्कविहीन भएर समस्याबाट भाग्न खोज्नु गैरजिम्मेवारपन हो । अर्काे कार्यालयले सही सूचना प्रवाह गर्नुपर्छ । होइन भने कार्यालयप्रतिको बिश्वास पनि गुम्न सक्छ ।
जे भएपनि जिल्लाका उपभोक्ताले विद्युत सेवामा भोग्दै आएका समस्या समाधानका लागि सबैभन्दा पहिले कार्यालय नै जिम्मेवार हुनुपर्छ । सहज रुपमा उपभोक्ताले विद्युत सेवा उपभोग गर्न पाउन् ।




