| आइतवार, कार्तिक २२, २०८३

मानव सेवा आश्रमलाई बर्षेनी सरकारी बजेट : सामाजिक बिकास कार्यालयबाटै डेढ करोड, समन्वय नगरेको भन्दै अनुगमनको तयारी

बिभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग पाउँदै आएको मानव सेवा आश्रम गोरखालाई सामाजिक बिकास कार्यालयबाट बार्षिक रुपमा बजेट विनियोजन हुने गरेको छ । सडक मानव पहिचान तथा व्यवस्थापनका लागि भन्दै आर्थिक बर्ष २०७८/७९ बाट बजेट विनियोजन हुन थालेको हो ।

बार्षिक दश लाखभन्दा बढी रकम उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख दशरथ शर्माले बताए । हालसम्म डेढ करोडभन्दा बढी रकम उपलब्ध गराइसकेका छौ,’ उनले भने, ‘भवन निर्माणका लागि भनेर हालसम्म एक करोड १९ लाख ६० हजार र आश्रम व्यवस्थापनका लागि भनेर ५० लाख उपलब्ध गराएका हौ ।’

व्यवस्थापन शीर्षकतर्फ आव २०७८/७९ मा ११ लाख ५२ हजार र २०७९/८० मा १५ लाख ९० हजार रकम उपलब्ध गराइएको उनले जानकारी दिए । त्यस्तै आव २०८०/८१ मा १५ लाख ८ हजार रकम दिइएको उनको भनाइ छ । ‘यो बर्ष पनि आश्रमका लागि १८ लाख ६५ हजार रकम विनियोजन भएको छ, त्यसमध्ये ७ लाख ५२ हजार रकम उपलब्ध गराइसकेका छौ,’ उनले भने । कार्यालयले उपलब्ध गराउँदै आएको रकम खर्च गर्ने ठोस् मापदण्ड नभएको भन्दै उनले थपे, ‘आश्रम व्यवस्थापनका लागि भनेर हामीले रकम दिन्छौ, रकम लगेर उहाँहरु आफैले आवश्यकता अनुसार खर्च गर्नुहुन्छ ।’

कार्यालयबाट प्राप्त रकम आश्रमका बालबालिकाको लत्ता कपडा, स्टेशनरी, बस भाडा र खाद्यान्नमा खर्च गर्ने गरेको आश्रमले जनाएको छ । बालबालिकाको हाजिरी, सम्बन्धित वडाको सिफारिस र निवेदन लगेर रकम लिने गरेको आश्रमकी जिल्ला संयोजक अन्जु मोक्तान (सम्भावना) ले बताइन् । उनका अनुसार हाल आश्रममा ३६ जना बालबालिका छन् ।

बर्षेनी आर्थिक सहयोग गर्दै आएपनि आश्रमले कार्यालयसँग खासै समन्वय नगरेको कार्यालय प्रमुख शर्माको गुनासो छ । ‘हामीले दिएको रकम कसरी खर्च भइरहेको छ ? के के शीर्षकमा खर्च हुन्छ ? त्यो पनि खासै थाहा हुदैन,’ उनले भने । आश्रममा हुने कार्यक्रम तथा गतिविधीबारे पनि आफूहरुलाई खासै खवर नहुने भन्दै अवका दिनमा अनुगमनलाई निरन्तरता दिने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्