| सोमवार, कार्तिक २३, २०८३

राजश्व संकलनको नाममा मनपरी कर नउठाउ

स्थानीय तहको राजश्व संकलनका लागि आफ्नो क्षेत्राधिकार भित्र कर उठाउन पाउने अधिकार स्थानीय तहलाई छ । तर केही स्थानीय तहले राजश्व संकलनको नाममा अनावश्यक रुपमा कर उठाउने गरेका छन् । यसको ज्वलन्त उदाहरण हो पालुङटार नगरपालिका ।

कृषि उपजमा समेत अनावश्यक कर उठाएको भन्दै अहिले पालुङटार नगरपालिकाले आलोचना खेपिरहेको छ यतिबेला । आफन्तलाई मासु खान पठाएको एक÷दुई वटा खसीबोको समेत कर लिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । राजश्व संकलनको नाममा मनपरी कर उठाउनु गलत हो ।

त्यसमाथि पनि पालुङटारले लिएको उक्त कर नियम विपरित भन्ने छ । पालिकाबाट निर्यात हुने बस्तुमा मात्र कर उठाउन पाइने सम्झौतामा उल्लेख छ । तर पालिकाभित्रिने वस्तुमा समेत नियम विपरित कर लिने गरिएको छ । पहिलो कुरा त कृषकहरुलाइ प्रोत्साहन गर्नुपर्छ । कृषि उपजमा सकेसम्म कर लिनु उचित होइन ।

अन्य वस्तुमा कर उठाउनु स्वभावि नै हो । कृषि क्षेत्रमै कर लगाउन थाल्ने हो भने जमिन बाँझिने क्रम झन् बढ्छ । कृषि क्षेत्र नै प्रभावित हुन पुग्छ । कृषकसँग कर लिनुको सट्टा प्रोत्साहन स्वरुप अनुदानका कार्यक्रम ल्याउनुपर्छ । कृषि उपजमा कर लिन नहुने पालिकाले बताएको छ ।

तर पालिकासँग ठेक्का सम्झौता गरेको कम्पनीले खुलेआम नियम विपरित कर उठाउँदा पालिका किन मुखदर्शक बनेर बसेको छ ? यो सोचनिय बिषय हो । कृषि क्षेत्रको प्रोत्साहन गरौ । राजश्व संकलनको नाममा लिइने अनावश्यक कर हटाऔ ।

प्रतिक्रिया दिनुहोस्