
अश्राङमा भएको मुटु शिविरमा पाँच सय जनाले सेवा लिए
भिमसेन थापा गाउँपालिका–६ स्थित सहिद स्मृति आधारभूत अस्पताल अश्राङमा एक दिने निशुल्क मुटुरोग शिविर संचालन भएको छ । गाउँपालिकाको समन्वयमा सम्भव नेपालले शनिवार संचालन गरेको शिविरमा ६ सय ३७ जनाले सेवा लिएका छन् ।
जसमध्ये ३ सय ७५ जनाको इसिजि र ३ सय ३० जनाको इको जाँच गरिएको डा. सुवास पन्तले बताए । ‘यसमा कोहीले इसिजि इको दुबै गर्नुभएको छ,’ उनले भने । जाँच गराएकामध्ये १६ जनामा जटिल समस्या देखिएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको उनले जानकारी दिए । शिविरमा आएका बिरामीलाई आवश्यकता अनुसार औषधी निशुल्क वितरण समेत गरिएको थियो ।
मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्रविधिक सहयोग तथा जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा शिविर भएको हो । शिविरमा डा. चन्द्रमणी पौडेलको नेतृत्वमा करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।




